चार्टर्ड उडानबाट ५५ हजार यात्रुलाई सेवा, एयर डाइनेष्टि हेलिकप्टर सबैभन्दा अगाडि



काठमाडौं । चार्टर्ड उडानबाट सन् २०२३ मा करिब ५५ हजार यात्रुले सेवा पाएका छन् । चार्टर्ड उडानबाट यात्रु सेवा दिने हेलिकप्टर कम्पनीले पछिल्लो एक वर्षमा ५४ हजार ८५० यात्रुलाई सेवा दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चार्टर्ड उडान गरेर यात्रु सेवा दिने हेलिकप्टरको सूचीमा सबैभन्दा अगाडि एयर डाइनेष्टि हेलिकप्टर सर्भिसेज रहेको छ । यो वायुसेवाले पछिल्लो एक वर्षमा ६ हजार ८४० यात्रुलाई सेवा दिएको छ । एयर डाइनेष्टिसँग ४ वटा हेलिकप्टर छ ।

यात्रु सेवामा दोस्रो नम्बरमा रहेको हेलिकप्टर कम्पनी अल्टिच्यूड एयर हो । यो हेलिकप्टर कम्पनीले ६ हजार ८१० यात्रुलाई सेवा दिएको छ । यो वायुसेवासँग भने जम्मा २ वटा मात्रै हेलिकप्टर रहेको छ ।

चार्टर्ड उडान गर्ने हेकिलप्टर कम्पनीहरूसँग हेलिकप्टरको संख्या कम र साना हेलिबाट सेवा दिएकोले नेपालमा सन् २०२३ मा सञ्चालनमा रहेको विभिन्न १२ वटा कम्पनीका हेलिकप्टरले ५४ हजार ८ सय यात्रुलाई सेवा दिएका हुन् ।

यात्रु सेवाका हिसावले चार्टर्ड उडानमा यात्रु सेवा दिएर सन् २०२३ मा तेस्रो स्थानमा कैलाश हेलिकप्टर सर्भिसेज रहेको छ । यो हेलिकप्टर कम्पनीले गत वर्ष ६ हजार ७४१ यात्रुलाई सेवा दिएको छ । यो कम्पनीसँग ३ वटा हेलिकप्टर रहेको छ ।

हेलिकप्टर सेवा प्रदायक कम्पनी फिस्टेल एयरले ४ हजार ६४० यात्रुलाई सेवा दिएको छ । यो हेलिकप्टर कम्पनीसँग ३ वटा हेलिकप्टर छ ।

दुईवटा हेलिकप्टर रहेको हेलि एभरेष्टले पनि गत वर्ष यात्रु सेवामा तुलनात्मक रुपमा राम्रो गरेको छ । यो हेलिकप्टर कम्पनील ६ हजार ७४१ यात्रुलाई सेवा दिन सफल भएको छ ।

गत वर्ष अन्य हेलिकप्टर कम्पनीसँगको तुलनामा सबैभन्दा कम यात्रु सेवा दिनेमा भने अन्नपूर्ण हेलिकप्टर रहेको छ । यसले १ हजार १ सय ११ जनालाई सेवा दिएको हो । यो कम्पनीसँग एउटा मात्रै हेलिकप्टर छ । एउटा हेलिकप्टरबाटै सेवा दिएको मुस्ताङ हेलिकप्टरले भने ३ हजार ४८२ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले एउटा हेलिकप्टर थप गरेको भए पनि अहिलेसम्म उडान गर्न भने सकेको छैन ।

गत वर्ष ३ हजार ८७६ यात्रुलाई सेवा दिएको मनाङ एयर पनि अहिले हेलिकप्टर बिहीन छ । यो कम्पनीसँग भएको हेलिकप्टर पछिल्लो समय लुक्लामा दुर्घटना भए पनि हेलिकप्टर विहीन भएको हो । यद्यपी यो वायुसेवाले हेलिकप्टर थप गर्ने गृहकार्य बढाएको भनिए पनि अहिलेसम्म हेली भित्र्याउन भने सकेको छैन ।

एउटा मात्रै हेलिकप्टर लिएर उडान गर्ने र उड्डयन सुरक्षामा चुनौती देखिँदा र प्राधिकरणले तोकेको शर्त पालना नगर्दा भएकै एयरक्राफ्ट पनि उडान नसक्ने अवस्थामा कतिपय कम्पनी पुगेका छन् । प्राधिकरणले संख्या कम भएको र हवाई नीतिअनुसारको हेलिकप्टर संख्या नपुर्याएको भन्दै ५ वर्ष भित्रमा ५ वटै हेलिकप्टर पुर्‍याउनुपर्ने समयसीमा सम्बन्धित वायुसेवालाई दिएको छ ।

हाल अनुमति पाएका वायुसेवामा दुर्घटनापछि मनाङ जहाजविहीन भएकोले उडान गरेको छैन, मुस्ताङले थप गरेकोसहित अर्को एक हेलिकप्टर उडानको तयारी गरिरहको छ भने अन्य हेलिकप्टर भने उडानमै रहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु