बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री महत



नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटो खुल्दा विकासको धेरै ठूलो सम्भावना खुलेको बताएका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’
उनले थपे ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । २०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’

महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘रसायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’

उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्नुहुँदै मन्त्री डा। महतले भन्नुभयो, ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’

नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन । डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो, उनले भने, ‘अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि १ अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ ।
सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको छ’ उनले भने, ‘उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने सिँचाइ आयोजनाका योजनाहरु राखिएको छ ।

सडक निर्माणमा एकै पटक बजेट राख्न नसकिने उनको भनाइ छ । देशमा आवश्यकता धेरै भएको र आम्दानी थोरै रहेको उनको भनाइ छ । ‘अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ उनले भने, ‘नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’


क्लिकमान्डु