प्रभु बैंकमा लोभलाग्दो फड्को मारिरहेकी ३५ वर्षीया रश्मी पन्त, सीईओ बन्ने तयारीमा
काठमाडौं । तपाईंलाई लाग्दो हो ‘मुटु’ मानिसको मात्रै हुन्छ । ३५ वर्षीया रश्मी पन्त मानिसको मात्रै मुटु नहुने तर्क गर्छिन् ।उनलाई लाग्छ, मानिसका संवेदना वा भावना बुझ्ने जुनसुकै संस्था वा व्यक्तिमा पनि मुटु हुनुपर्छ । त्यहि मुटुको ढुकढुकी छामेर ग्राहकको विश्वास पहिल्याउन खप्पिस छिन्, रश्मी ।
बैंक पैसा राख्ने संस्थामात्र नभएर व्यक्तिको आशा र भरोसालाई टेको दिने खम्बा पनि हो भन्ने बुझाइ भएकी उनी आजकाल ‘मुटु’ बलियो बनाउने काममा व्यस्त छिन् ।
ग्राहकको विश्वास र बैंकको व्यवसायलाई सम्मिश्रण गर्दै ३०१ वटा शाखाबाट झण्डै ३१ लाख ग्राहकको वित्तीय कारोबार सम्हाल्दै आएको प्रभु बैंकको चिफ बिजनेश अफिसर हुन्, रश्मी । २३ अर्ब ५४ करोड चुक्ता पुँजी र १० अर्ब ९३ करोड रिजर्भ रहेको बैंकले २ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकमा ३५ सय कर्मचारी कार्यरत छन् । बैंकमा हजारौंको संख्यामा सेयरधनी छन् ।
रश्मी बैंकलाई आर्थिक कारोबारको साथी मात्र नभएर सुरक्षित भविष्यको मार्गदर्शक समेत ठान्छिन् । र, ग्राहकको विश्वासमा बैंकको अस्तित्व टिक्ने उनको विश्वास छ । उनकै सोचअनुसार केही समय अघि प्रभु बैंकले ‘बैंकमा ग्राहकले पैसा होइन, विश्वास जम्मा गर्छन्’ भन्ने स्लोगनसहित आफ्नो ब्राण्डिङ गरेको थियो ।
रश्मी प्रभु बैंकलाई मुटु भएको संस्था बनाउन उद्यत छिन् ।
‘तपाईंको पैसा ढुक्कसँग हामी (बैंक) लाई दिनका लागि भावानात्मक रुपमा पनि तपाईं हामीसँग जोडिएको हुनुपर्छ,’ उनी भन्छिन्, ‘ग्राहकको भावानालाई आर्थिक कारोबारसँग जोड्नु नै बैंकको धर्म हो ।’
व्यवसायिकरुपमा खरो उत्रने रश्मी आफैंलाई भने कहिलेकाँही ग्राहकको विश्वास जित्न गाह्रो पर्छ । अक्सर उमेरका कारण क्षमतामै पनि प्रश्न राख्नेहरु भेटिन्छन् ।
‘हाम्रो समाजमा सानै उमेरमा ठूलो जिम्मेवारी बोक्नलाई अझै सजिलै विश्वास गर्ने वतावरण बनेको छैन,’ उनी गुनासो गर्छिन्, ‘उमेरले हैन, क्षमताले मानिसले सबैकुरा पाउँछ । त्यसैले म क्षमतामा विश्वास गर्छु ।’
स्पष्ट वक्ताको रुपमा चिनिने रश्मीलाई भविष्यमा बैंक हाँक्ने सीईओको रुपमा बैंककै कर्मचारीले समेत हेर्न थालेका छन् । उनलाई उमेर वा लिङ्गले व्यवसायीक दक्षताको मापन गर्ने सामाजिक सोचकाविरुद्धमा लड्नु छ ।
‘सामान्यतया तपाईंले सानो उमेरमा ठूलो जिम्मेवारी निभाउँदै हुनुहुन्छ भने तपाईमाथि शंकासहितका प्रश्नहरु धेरै आउने गर्छन्,’ उनी भन्छिन्, ‘पितृसत्तात्मक सोच र ठूलो जिम्मेवारीको लागि दशकौंको अनुभव माग्ने समाजले सानो उमेरको प्रगति खासै पचाउँदैन ।’
रश्मी आफैं पनि यी यावत प्रश्नहरुको घेराबन्दीमा परिरहेकी छन् । महिला भएकै कारण छिटोछिटो पदोन्नति भएको आरोपले उनलाई लखेटिरहेको छ । सायदै पुरुष भएको भए उनले यस्ता प्रश्न झेल्नु पर्ने थिएन होला ।
यद्यपि, उनी यस्ता आरोपहरु वास्ता नगरी आफ्नो काममा मिहेनत गरिरहन्छिन् । बैंकिङ क्षेत्रमा बढ्दै गएको महिलाको संख्याले भने पुलकित देखिन्छिन्, उनी । नयाँ आउने महिला सहकर्मीहरुमा उनले फरक खालको काम गर्ने हुटहुटी भेट्टाउँछिन् । भन्छिन्, ‘मेरो पुस्ताले सिनियर हुँ भन्ने अहमताले ग्रस्त कर्मचारीको शिकार हुनपर्यो तर अब आउने पुस्ताले सिनियर शब्दलाई भन्दा बढी क्षमतालाई मान्नेछन् ।’
नयाँ पुस्ता अझ धेरै नविनतम सोचका साथ बैंकमा काम गर्न चाहे पनि उमेर र अनुभवका आधारमा पछाडि धकेलिनुपर्ने अवस्था कायमै रहेको उनको गुनासो छ ।
अलपत्र पढाइ: १० वटा कक्षाका लागि १३ विद्यालय
रश्मीको जीवन व्यवस्थित छ । उनकै भनाइलाई सापटी लिने हो भने उनी ऊर्जावान समय बैंकमा व्यतित गरिरहेकी छिन् । व्यवस्थित जीवन बनाउन रश्मी आफैंले भने धेरै कसरत गर्नुपर्यो ।
कञ्चनपुर स्थायी घर भएकी रश्मीको घरको आर्थिक अवस्था राम्रै थियो । त्यसैले उनले अभावको अनुभव गर्नु परेन । यद्यपि, स्थिर भएर अरु बालबालिका जसरी एउटै विद्यालय र एउटै स्थानमा बसेर भने उनले पढ्न पाइनन् ।
रश्मीका बुबा पेशाले न्यायाधीश । बुबाको सरुवासँगै रश्मीसहित सम्पूर्ण परिवारले पनि बसाईं सर्नु पर्दथ्यो । हरेक वर्ष वा ६ महिनामा बुबासँगै रश्मीको पनि विद्यालय र बस्ने स्थान परिवर्तन हुन्थ्यो । यसैकारण पनि उनले १० वटा कक्षा पढ्न १३ वटा विद्यालय धाउनु पर्यो ।
रश्मीले एसएलसी महेन्द्रनगरबाटै गरिन् ।
उनलाई कक्षाकोठामा हुने कम्पुटर प्रोगामिङका कक्षाहरुले लोभ्याउँथ्यो । कम्प्युटर अगाडि बसेर गर्ने कामले उनलाई उत्सुक बनाउँथ्यो । रश्मीलाई थाह थियो आईटी पढ्यो भने कक्षामा सरले सिकाएका ती सबै प्रोगामिङहरु आफैंले गर्न सकिन्थ्यो ।
बुबा न्यायाधीश भए पनि रश्मीलाई न्याय क्षेत्रमा खासै रुची थिएन । उनका बुबा छोरी न्याय क्षेत्रमा नआए पनि डाक्टर बनोस् भन्ने चाहन्थे । रश्मी न न्याय क्षेत्रमा जान चाहन्थिन्, न डाक्टर बन्न नै । आईटी पढ्नका लागि उनले विज्ञान विषय लिएर कक्षा ११/१२ सकिन् । तर, आइटी क्षेत्रभित्र पनि कुन विषय लिने भन्ने दोधारले उनको इन्जिनियर बन्ने सपना पूरा गर्न सकेन । बीबीए भर्ना भइन् । पोखरा विश्वविद्यालयबाट बीबीए र काठमाडौं विश्वविद्यालयबाट एमबीए पनि सकिन् ।
स्नातकोत्तर सकिएपछि सहपाठीहरुको बाटो मोडियो । कोही व्यवसायमा होमिए त कोही जागिरमा ।
मास्टर्स सकेपछि रश्मीले अमेरिकामा विद्यावारिधी (पीएचडी)का लागि आवेदन दिएकी थिइन् । सबै कागजात पूरा भइसकेपछि केही समय खालि थिइन् ।
त्यहिबेला प्रभु बैंकमा रोजगारीका लागि आवेदन माग भएको सूचना साथीभाइबाट थाहा पाइन् । र, म्यानेजमेन्ट ट्रेनी पदमा आवेदन दिइन् । बैंकमा आवेदन दिएको केही दिनपछि उनी चितवन जानका लागि थानकोट पुगेका बेला बैंकबाट फोन आयो ।
उनी सिधै काठमाडौं फर्केर बैंकमा गइन्, उनको अन्तर्वार्ता भयो । अन्तर्वार्ताका क्रममा उनले आफूले पीएचडी गर्नका लागि अमेरिकामा आवेदन दिएको र त्यसको प्रक्रिया ६ महिनादेखि १ वर्षमा टुंगिने भएकाले सो अवधिभर मात्रै बैंकमा जागिर खानसक्ने बताएकी थिइन् । साथै उनले आफूलाई कोर बैंकिङको बारेमा जानकारी नभएको प्रष्ट बताउँदै रणनीति बनाउने काम भने गर्नसक्छु भनिन् ।
अन्तर्वार्ता सकिएपछि बैंकले नै उनलाई म्यानेजमेन्ट ट्रेनीभन्दा एक पद माथि अर्थात् जुनियर अफिसरका लागि अफर गर्यो । र, सन् २०१५ को मार्च महिनामा उनी प्रभु बैंकमा प्रवेश गरिन् । उनलाई ५ वर्षको बैंकको रणनीति बनाउने जिम्मेवारी दिएको थियो। रश्मीले ६ महिनामै ५ वर्षको रणनीति बनाएर व्यवस्थापनसमक्ष पेस गरिन् । उनले बनाएको रणनीति व्यवस्थापनलाई मन पर्यो ।
त्यसपछि त रश्मी प्रगति यसरी हुँदै गयो कि, उनको बढुवा भएको देखेर इर्स्या गर्नेहरुको ठूलो जमात बन्यो । करिब १० वर्षको करिअरमा सबैभन्दा छिटो-छिटो बढुवा हुने भाग्यमानी बैंकर हुन्, रश्मी । विजेनश प्लानिङ अफिसरका रुपमा सेवा प्रवेश गरेकी उनी कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिङ अफिसर, चिफ अपरेटिङ अफिसर हुँदै चिफ बिजनेश अफिसरमा बढुवा भएकी छन् । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थिन् ।
सीईओ बन्ने योजना र तयारी
जुनियर अफिसरको रुपमा बैंकिङ करियर सुरु गरेकी उनी छोटो समयमै व्यवस्थापन तहको जिम्मेवारीमा पुगेकी छन् । उनका पाइला यतिमै अडिने छैनन्, बैंक हाँक्न सक्ने महिलाको रुपमा आफूलाई समाजमा स्थापित गर्नुछ । अहिले उनी सीईओ बन्ने तयारीका साथ अहोरात्र काम गरिरहेकी छन् ।
‘कुनै पनि क्षेत्रमा प्रवेश गर्दा मिहेनत गरेर त्यसको उच्च पदमै पुग्नुपर्छ, नेतृत्व गर्नुपर्छ भन्ने मेरो सोच हो,’ रश्मी भन्छिन्, ‘आफूले पाएको जिम्मेवारीलाई कामले न्याय दिन सक्छु भन्ने आत्मविश्वास छ मसँग, त्यसैले अबको ४/५ वर्षमा कुनै वाणिज्य बैंकको सीईओका रुपमा आफूलाई देख्छु।’
बैंकमा जागिर खान थालेपछि पीएचडीका लागि अमेरिका जाने सोचबाट पछि हटिन् । तर, नेपालबाटै राजनीतिशास्त्रमा पीएचडी गरिरहेकी छन् । पछिल्लो समय उनलाई बैंकिङ, राजनीतिशास्त्रसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा पनि रुचि बढ्दै गएको छ । जसले उनको करिअरमा नयाँ ढोका पनि खोल्न सक्छ ।
रश्मी प्रवल जनसेवा श्री सम्मानबाट सम्मानित भइसकेकी छन् । सरकारले गरेको सिफारिसका आधारमा उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट सम्मानित गरेकी हुन् ।
बैंकलाई ग्राहकको साथी बनाउने रणनीति
रश्मी अंकको जोडघटाउमा पनि जीवनको दर्शन भेट्छिन् । उनी आम मानिसको लक्ष्य, जीवन हुनुको अनुभुत र सरकारको गति एकैपटक नियाल्न सक्छिन् । त्यसैले उनी अचेल कानुनी व्यक्तिमा मुटु हाल्न तल्लिन् छिन् ।
भन्छिन्,‘बैंकले तपाईंको अनुभुतिलाई महशुस गर्न सकेन भने कसरी व्यवसाय गर्छ ? आखिर यो भावनाकै व्यवसाय न हो ।’
रश्मी नेपालका बैंक अझै पनि ग्राहकका साथी बन्न नसकेको गुनासो गर्छिन् । हुन त डेढ दशक अघिसम्म बैंक पुग्न ग्राहक सहरसम्म आउनुपथ्र्यो भने अहिले बैंक ग्राहकको घरसम्म पुगिसकेका छन् । रश्मी भौतिक दूरीसँगै भावानात्मक दूरी नघटाएसम्म बैंक ग्राहकको साथी बन्न नसक्ने तर्क गर्छिन् ।
भन्छिन्, ‘हामीले ग्राहकको अवस्था महशुस गरेर उनीहरुलाई सहयोग पुग्ने गरी वित्तीय योजनाहरु बनाउँदै आएका छौँ तर ग्राहक र बैंकबीचको ग्यापका कारण योजना शतप्रतिशत सफल हुन सकिरहेको छैन ।’
प्रभु बैंकले स्टार्टअप गर्न चाहने युवाहरुको साथी बन्न आइडिया बोकेर आउनेलाई पनि कर्जा र योजना दुबैमा सहयोग गर्दै आएको बताउँछिन् उनी । आइडिया स्टुडियो जस्ता स्टार्टअपलाई प्रोत्साहन गर्ने कार्यक्रममा बैंकले लगानी गर्दैमात्र आएको छैन, त्यस्ता कार्यक्रमबाट उत्पादित जनशक्ति तथा स्टार्टअपलाई कर्जासँगै मेन्टरशिपसमेत प्रदान गर्दै आएको छ ।
‘बैंकले कर्जामात्रै दिँदैन तपाईंको व्यवसाय बढाउन पनि सहयोग गर्छ भनेर हामीले ग्राहकलाई अझै बुझाउन सकेका छैनौं,’ रश्मी भन्छिन्, ‘अबको पुस्ताले यसमा काम गर्नुपर्छ ।’
रणनीति बनाउनकै लागि जुनियर अफिसरमा बैंक प्रवेश गरेकी रश्मी अहिले चिफ म्यानेजर छिन् । बैंकमा उनीभन्दा माथि केही उच्च तहका कर्मचारी छन् । यद्यपि, बैंकको रणनीति बनाउने महत्वपूर्ण जिम्मा भने अहिले पनि रश्मीकै काँधमा छ । उनले बनाएको रणनीति उच्च व्यवस्थापनले स्वीकारेर कार्यान्वयनमा लगिरहेको छ ।
बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको छ।
सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो। बैंक अफ दि इयर अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ।
दि बैंकरले विश्वभरिका १ सय २० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयरबाट वर्षैपिच्छे सम्मानित गर्दै आएको छ।
विश्वअर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमता मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।
यस्ता अन्तर्राष्ट्रिय अवार्डहरुले संस्थाको गुडविल राम्रो बनाउने कर्मचारीलाई काम गर्न प्रोत्साहन मिल्ने रश्मी बताउँछिन् ।