५ करोडको गाडी किन्ने तयारी गर्दागर्दै समातिए बम्जन



काठमाडौं । बाल यौन दुराचार र व्यक्ति वेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको साथबाट ठूलो परिणाममा नगद फेला परेको छ ।

आफूलाई ‘लिटल बुद्ध’ बताउँदै तपस्वीको भेषमा उनले विलाशी जीवनशैली जिउने गरेको उनी पक्राउ परेपछि सार्वजनिक भएका विवरणले स्पष्ट पारेको छ । उनको घरबाट २७ देशका मुद्रासहित ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ फेला परेको छ ।

त्यस्तै उनीसँग महँगा गाडी र बाइकसमेत रहेको पाइएको छ । प्रहरीले सोमबार हात्तीगौंडाबाट पक्राउ गरेका बम्जनलाई बुधबार सार्वजनिक गर्यो । घरमा प्रहरी पुगेपछि उनी दुई तलामाथिबाट हाम फालेर भाग्न खोजेका थिए तर प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

त्यसक्रममा प्रहरीले उनको घरबाट फेला परेका १४ थान मोबाइल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नु अगाघिसम्म बम्जमले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेका थिए । जसको मूल्य नेपाली बजारमा २ करोड ३२ रुपैयाँसम्म पर्ने गरेको छ । प्रहरीका अनुसार बम्जनले क्रस फायर कम्पनीको डर्ट बाइक, ३०९ सीसीको केटिएम ड्यूक यामाहा रे जेडआर स्कुटर समेत प्रयोग गर्ने गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बम्जनले धुम्बाराहीस्थित एक शोरुमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्नका लागि अर्डर गरेका थिए ।

उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिने तयारी थियो । त्यसका लागि बमजनले ३ करोड बुझाइसकेको एसपी अधिकारीले बताए । बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।

बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप छ । बाल यौन दुराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए ।

बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा बम्जनको आश्रमबाट अनुयायीहरु बेपत्ता पारेका विभिन्न उजुरीसमेत प्रहरीमा परेका छन् ।


क्लिकमान्डु