चुनाव हारेकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु व्यवस्थामाथिकै गम्भीर प्रहारः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको भन्दै आक्रोश व्यक्त गरे ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले निर्वाचनमा हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार भएको बताए ।

राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाइ छ ।

राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने उनको प्रस्ताव छ ।

संवैधानिक परिषदका सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

रवि लामिछानेले यसो भने

आज चुनाव हारेका मान्छेहरु राष्ट्रिय सभामा ठाँटले यही कार्यकाल चुनाव हारेका मान्छेहरु उठिरहेका छन् । मैले उदाहरण दिएको यहाँहरुलाई । अफ्ट्यारो नमान्नु होला । तपाईंहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ ।

मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा खेरी व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेरी यहाँहरुले गर्ने प्रतिवाद खोइ त ? त्यसकारण कानुनमा उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ ।

मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, कहिले बैठक राख्ने भनेर उपस्थित पनि हुन्छ । र एक दिन पनि रिक्त हुँदैन । यो सेलेक्सनको विधि भनेको विश्वव्यापी मान्यता हो । त्यो मेरिट वेसमा पनि आफ्ना मान्छेहरु हुन्छन् भन्नुभयो भने त्यस्तो नहुने कार्यविधि हामी बनाउन सक्दैनौं ? यतिमा जनताले विश्वास गरेर जिताएका हामी माननीयहरुले यो देशमा योग्यतम मान्छे छान्न सक्ने कार्यविधि बनाउन सक्ने हाम्रो क्षमता छैन ? के तपाई हामी आफ्नै क्षमतामाथि प्रश्न गरिरहेका छौं ?

संयन्त्रको कुरा होइन, कानूनमा २ पाना थपिएर फरक पर्दैन, संविधानमा २० वटा पाना थपिएर फरक पर्दैन । देश, देशको अवस्था, राजनीतिक परिस्थिति यी सबै कुरालाई मध्यनजर गर्दा हामीले व्यवस्थालाई थिलथिलो बनाएका छौं । व्यवस्थालाई हाईज्याक गर्ने अवस्था हामी पुगिसक्यौ भने पछि फेरि संवैधानिक निकायका यस्ता ठाउँहरुमा हामीले देख्यौँ नि एक पटक प्रमुख प्रतिपक्ष दलको नेता आइदिनु भएन । अर्को पटक सभामुख आइदिनु भएन । यही कुरा निरन्तर भइरहन्छ भनेर यो बैठक बसेको हो । यसले उहाँहरुको नैतिकतामा प्रश्न गर्न मिल्दैन भनेको भए त यो लज्जास्पद विषयमा हामी बस्नै पर्ने थिएन नि ।

राष्ट्रको सबैभन्दा उच्च ओहोदामा बसेका मान्छेहरु आईदिएनन्, कसरी ल्याउने भन्ने मात्रै हो र ? अब त सल्लाह गरेर आफ्नो राजनीतिक लाभहानीका लागि सल्लाह गरेर सर्वसम्मत गर्दा पनि कस्तो मान्छेहरुमा सर्वसम्मत गरिएको छ हेरौन ? मैले नाम लिइन । त्यस्ता मान्छेहरुको नाम लिएर भनिरहँदाखेरी पूर्वाग्रहको अवस्था रहला । तर मुलुकको विभिन्न क्षेत्रमा देखिएको यो बेथितिको कारण के त ? मेरिट नभएर होइन र ? चाहे विश्वविद्यालयको कुरा गरौं, चाहे संवैधानिक निकायको कुरा गरौं । त्यसकारण देशलाई मेरिट बेसमा लिएर जाने कुरा अझ यस्तो जिम्मेवार पदहरुमा मेरिट बेसमा मान्छेहरु ल्याउने कुरामा हामीले एकमत गर्न सक्यौं भने गणपूरकको समस्या पर्दैन । एक दिन पनि पद रिक्त हुँदैन ।

देशलाई चाहिने मान्छे हो भने सबै जना सहमत हुन्छन् । तर पार्टीलाई चाहिने मान्छे भयो भने तपाईको पार्टीका लागि किन आइदिन्छ, आउदैन । यहाँ सिष्टमनै हाईज्याक भएको छ । यसलाई बचाउने हो भने व्यवस्थामाथि चिन्ता गरेको हो । कसले आक्रमण गर्‍यो व्यवस्थामाथि ? संवैधानिक परिषदको बैठकमा नआउनेले व्यवस्थामाथि आक्रमण गर्‍यो ।

देशलाई योगदान दिएको भन्दा आफ्नो पार्र्टीका लागि काम गर्न सक्ने मान्छे सिफारिस गर्ने कामले यो व्यवस्था माथि आक्रमण गर्‍यो । घाइतेभएर आएको छ व्यवस्था । त्यो घाइते भएको व्यवस्था, जसलाई ढुंगा खाएर, गोली खाएर तपाईहरु जस्ता साथीहरुले बचाएर ल्याउनुभएको थियो । त्यो लड्न लागेको व्यवस्थालाई फेरि ठूलो ढुंगा प्रहार भएर चुनाव हारेको मान्छेलाई यही कार्यकालमा फेरि तपाईहरुले ल्याउनु भएको छ राष्ट्रिय सभामा । यो व्यवस्थालाई हाईज्याक हुनबाट बचाऔं ।


क्लिकमान्डु