मंगलम् ब्रान्डको पाइप बेच्ने कम्पनीको व्यापार १३ प्रतिशतले घट्यो



काठमाडौं । मंगलम् ब्रान्डको पाइप बेच्ने मंगलम इन्डष्ट्रिज प्रालिको व्यापार १३ प्रतितशले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा १२.६७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब १४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, सन् २०२१ मा १ अर्ब ५० लाख रुपैयाँ, सन् २०२० मा ३२ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५१ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००९ मा स्थापना भएको कम्पनीले पाइप र पाइप फिटिङको सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले पीभीसी, सीपीभीसी, यूपीभीसी र एचडीपीइ नामको पाइप उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले भारतीय कम्पनीसँग सहकार्य गरेर जोइन्ट भेन्चरको रुपमा सञ्चालनमा ल्याएको थियो । तर, अहिले नेपाली लगानीकर्ताले पूर्ण स्वामित्व लिएको छ । कम्पनीले प्लम्बिङ, एग्रिकल्चर, ड्रेनेज, बोरवेल, पानी आपूर्ति, इलेक्ट्रिक कन्ड्यूइट र अन्य विभिन्न क्षेत्रमा प्रयोग हुने पाइप र फिटिङको सामग्री उत्पादन गर्छ ।

कम्पनीले उत्पादन गरी बिक्री वितरण गर्ने पाइप र फिटिङ सेग्मेन्टमा सबैभन्दा बढी सीपीभीसी प्लम्बिङ पाइप र फिटिङ क्षेत्रको हिस्सा छ । सन् २०२३ मा सीपीभीसीबाट मात्रै ४० प्रतिशत आम्दानी गरेको उल्लेख छ । त्यसपछि पीभीसी पाइपको ३५ प्रतिशत र बाँकी यूपीभीसी पाइप तथा फिटिङको रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले मंगलम् ब्रान्डमा उत्पादित सामग्री बेच्दै आएको छ । साथै, कम्पनीले सन् २०२० देखि भारतीय बजारमा पनि उक्त सामग्री निर्यात गर्दै आएको छ । कम्पनीमा शशी चुरीवालको ७१.९ प्रतिशत र शाइनी खेतानको २८.१ प्रतिशत हिस्सा छ । कम्पनीको प्रबन्ध निर्देशक भने अभिनभ चुरीवाल हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८९ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु