मुग्लिन-आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी पारि नयाँ सडक बनाइने, स्तरोन्नतिका लागि ४ अर्ब



काठमाडौं । चार अर्ब लगानीमा मुग्लिन–आँबुखैरी सडक खण्ड स्तरोन्नति गरिने भएको छ । सरकारले चितवन, गोरखा र तनहुँ जिल्ला जोडिएको ९.३८४ किलोमिटर सडक खण्ड ३ अर्ब ९७ करोड ४७ लाख रुपैयाँ खर्चेर स्तरोन्नति गर्ने भएको हो ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण हुन लागेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ ।

प्रतिवेदनअनुसार पृथ्वी राजमार्गको मुग्लिङ-आँबुखैरेनी सडक खण्डमा ४.४५६ किलोमिटर नयाँ सडक निर्माण हुनेछ भने बाँकी ४.९२८ किलोमिटर स्तरोन्नति गरिने छ ।

पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारि नयाँ सडक निर्माण गरिने छ भने बाँकीलाई स्तरोन्नति गरिने छ । कुल ९.३८४ किलोमिटर सडकमध्ये मर्स्याङ्‍दी नदी पारि ४.४५६ किलोमिटरमा नयाँ सडक निर्माण गर्न लागिएको हो।

प्रतिवेदनमा आयोजना निर्माण गर्दा नयाँ निर्माण हुने ४.४५६ किलोमिटर क्षेत्राधिकार ३० मिटर र स्तरोन्नति हुने खण्डको ५० मिटर क्षेत्राधिकार र डिजाइनको गति भौगोलिक अवस्थितिअनुसार ४० देखि ६० किलोमिटर प्रतिघन्टा हुने जनाएएको छ ।

आयोजनाको नयाँ निर्माण तथा स्तरोन्नतिको लागि कूलभित्र ३१.३६५ हेक्टर (स्थायी १३.३६५ र अस्थायी १८ हेक्टर) स्थायी जमिन १२.३६५ हेक्टर (वन क्षेत्र ९.५२५ हेक्टर र निजी ३.८४ हेक्टर) र अस्थायी हेक्टर (वन क्षेत्र सरकारी बाँझो ५ हेक्टर र निजी १३ हेक्टर) क्षेत्रफल जग्गा अधिग्रहण हुनेछ ।

सरकारले एडीबीको सहयोगमा आयोजना अगाडि बढाएको हो । आयोजनाको सुरुको पोइन्ट मुग्लिङको २७१.८०० मिटरदेखि हुनेछ भने अन्तिम पोइन्ट आँखुबैरेनीको ३२२.४०३ मिटरसम्म हुनेछ ।

उक्त सडक खण्ड चार लेनको हुने छ । प्रस्तावित मुग्लिङ–आँबुखैरेनी (९.३८४ किमि लम्बाई) सडक खण्डको स्तरोन्नति तथा नयाँ निर्माण कार्य मुग्लिङ–नारायणघाट चोक (चेनेज ००+०००) को करीब ९३६ मिटर पूर्व इच्छाकामना गाँउपालिका वडा–५ बाट सुरु भइ आँबुखैरेनी (चे.०९+३८४), वडा–३ को तनहुँ जिल्लामा गई समाप्त हुनेछ ।

अहिले सवारी सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेनको बनाइने छ ।

सडक खण्डको स्तरोन्नतिको सुरुवात चे.००+००० देखि चेनेज ००+१८० सम्म (एक तर्फी, एक लेन), चे.००+१८० देखि चे. ० +३५० सम्म (एक तर्फी, दुइ लेन), चे. ०५+०८० देखि चे. ०८+१०० सम्म (दुइ तर्फी, चार लेन सम्म)र चे. ०८+१०० देखि चे. ०९+३८४ सम्म (दुइ तर्फी, चार लेन र सेवा लेन सम्म) हुनेछ ।

त्यसैगरी, सडकको नयाँ निर्माण संरेखण कार्य चे.००+४७० बाट सुरु भई चे. ०४+९२६ (एकतर्फी बाटो, दुई लेन) सम्ममा टुङ्गिनेछ । यसबाहेक, आयोजनाले दुई पुलको निर्माण गर्ने सम्झौता गरे अनुसार निर्माण गर्नेछ । जसमध्ये १२० मिटर लम्बाइको त्रिशुली पुल चे. ००+३५० देखि चे. ००+४७० सम्म र १२५ मि. लम्बाइको मस्र्याङदी पुल चे. ०४+९२६ देखि चे. ०५+०५१ सम्म १२.१६ मिटर चौडाइ रहने प्रतिवेदनमा उल्लेख छ ।

उक्त सडकखण्ड निर्माण भइसकेपछि यातायात सहज हुने विश्वास लिइएको छ । दैनिक ५ हजार बढी सवारी साधनको आवातजावत हुने क्षेत्रमा सडक स्तारेन्नति हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सोही यातायात सहजीकरणका लागि सरकारले आयोजनामार्फत् ६ वटा पुल निर्माण गर्नेछ ।

उक्त आयोजना साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


क्लिकमान्डु