ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए



काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेबारीबाट हटाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई जिम्मेबारीबाट हटाइएको जानकारी दिएका छन् । इपीएस कार्यालयबाट कमजोरी भएको भेटिएपछि उनलाई जिम्मेबारीबाट हटाइएको हो ।

काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शनिबार यो जानकारी दिएका हुन् । दाहालले बिहीबार भएको घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएका छन ।

प्रहरी प्रधान कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवार र ललितपुर प्रहरीका अपरेशन कमाण्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने निर्णय भएको उनले बताए ।

यसैबीच दुई जना युवकको ज्यान जाने गरी भएको ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउने भएको छ । शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा सो निर्णय भएको हो ।

प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार बिहानको छलफलमा ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधानकार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा तान्ने निर्णय भएको छ ।


क्लिकमान्डु