बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले दस- दस लाख दिने, मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । बालकुमारी घटनामा शुक्रबार ज्यान गुमाएका युवाको परिबारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । पीडितका परिबारलाई जनही १०/१० लाख रूपैयाँ दिने भएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।

घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। मृतकको शव सरकारले नै उनीहरुको घरसम्म पुर्‍याइदिने निर्णय गरेको छ।

यसैबीच राहतबारे निर्णय गर्न शनिबार दुई बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।


क्लिकमान्डु