बालकुमारी घटनाबारे प्रधानमन्त्री दाहालले लिए जानकारी, फिल्डमा खटिएका सुरक्षाकर्मी निलम्बन



काठमाडौं। शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग जानकारी लिएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा अधिकारीहरुसँग प्रधानमन्त्री दाहालले घटनाको बिषयमा ब्रिफिङ लिएका हुन् ।

ब्रिफिङमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको उपस्थित थियो ।

ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दु : खद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए ।

बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।

ललितपुरका एसएसपी शिद्धिविक्रम शाह पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएका छन्।


क्लिकमान्डु