कोरिया जान सिप बिल्डिङको परीक्षा दिएकाले अब उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाउने



काठमाडौं । सरकारले दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) मा काम गर्नका लागि आवेदन खुलाएको छ ।

जहाज निर्माण (सिप बिल्डिङ) मा भाषा परीक्षा दिएका नेपाली युवायुवतिहरु पनि उक्त उत्पादन क्षेत्रमा आवेदन दिन पाउने विभागले व्यवस्था गरेको छ । विभागले सूचना जारि गर्दै यस्तो जानकारी दिएको हो ।

विभागका अनुसार जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएका ३० हजारभन्दा बढि नेपालीले उत्पादन क्षेत्रका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।

उत्पादन क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुनका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन अवधी तोकिएको छ । तर यसमा जहाज निर्माण क्षेत्रमा परीक्षा दिएर बसेकाहरु मात्रै आवेदन दिन पाउने व्यवस्था ईपीएस कोरिया शाखाले गरेको छ ।

पाटनस्थित उच्च अदालतले सिप बिल्डिङका लागि परीक्षामा सहभागी भएकालाई फाराम भर्न रोक नलगाउन सरकारको नाममा आदेश दिएको थियो । यो आदेशपछि सरकारले उत्पादनमुलक क्षेत्रका लागि आवेदन खुला गरेको हो ।

यसअघि सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था थियो । तर, परीक्षार्थीले उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउनुपर्ने उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

पुस ५ गते अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।

त्यसपछि पुन: उच्च अदालत पाटमा अर्को रिट परेको थियो । उक्त रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले समान प्रकृतिको सबै परीक्षार्थीलाई रोक नलगाउन सरकारको नाममा आदेश दिएको थियो ।

कोरियास्थित मानव संशाधन विभागबाट सकारात्मक जवाफ प्राप्त भएको जनाउदै विभागले उच्च अदालतको आदेशलाई सम्मान गर्दै सिप बिल्डिङमा सहभागी भएका परीक्षार्थीको हकमा उत्पादनमुलक क्षेत्रका लागि पनि आवेदन खुलाइएको जनाएको छ ।


क्लिकमान्डु