नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को तयारी, ९८.६० मिटरमात्र खन्न बाँकी



काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनका लागि ९८.६० मिटर खन्न बाँकी रहेको छ । नागढुंगा आयोजनाले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार टनेलको ‘ब्रेक थ्रु’ को लागि अब ९८.६० मिटर खन्न बाँकी रहेको हो ।

आयोजनामा कुल २ हजार ६८८ मिटर लामो सुरुङ मार्ग बन्दैछ । त्यसमध्ये अहिलेसम्ममा २ हजार ५८९.४० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

त्यस्तै, आयोजनाको रेस्क्यू टनेलको कार्य भने सम्पन्न भइसकेको छ । उक्त रेस्क्यू टनेल २ हजार ५५७ मिटरको थियो । उक्त टनेलको ब्रेक थ्रु गत अगस्ट ७ मा सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाअनुसार टनेलको अब १.८० प्रतिशत मात्रै भौतिक कार्य बाँकी रहेको छ । त्यसमा हालसम्ममा ९८.४० प्रतिशत भौतिका कार्य सम्पन्न गरिसकेको छ ।

सुरुङमार्गमा तीनवटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल र १ वटा फ्लाईओभार गरी १२ वटा पूर्वाधार संरचना बन्नेछ । त्यसमध्ये हालसम्ममा ११ वटा संरचनाको कार्य सम्पन्न भएको छ भने एउटा फ्लाईआभोरको काम भइरहेको छ । फ्लाईओभरको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

सरकारले २०६९ माघमा विभिन्न चरणको सर्वेक्षणको काम सम्पन्न गरेको थियो । सुरुङमार्ग जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ ।

सुरुङमार्गले सडकमार्गको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । देशका अन्य स्थान तथा प्रमुख सहरसँगको यातायात सम्पर्क भरपर्दो हुने, समय यातायात सञ्चालन खर्चमा बचत हुनाका साथै यात्रासमेत सुरक्षित हुनेछ ।

त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट ४ अर्ब ८० करोड रुपैयाँ बराबर उपलब्ध गराइएको छ ।

जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । सुरुङ खन्नका लागि नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो ।


क्लिकमान्डु