कोरियन भाषा परीक्षामा १ लाख ४४ हजारले दिए आवेदन, सीप बिल्डिङसहित १ लाख ७५ हजार पुग्ने अनुमान



काठमाडौं । कोरियन भाषा परीक्षा ( ईपीएस ) मा उत्पादनमूलक क्षेत्रमा १ लाख ४३ हजार ८१२ जनाले आवदेन दिएका छन् ।

इपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार २ गतेदेखि ६ गतेसम्म खुलेको भाषा परीक्षामा करिब ४४ हजार आवेदनकर्ताको आवेदन स्वीकृत भएको बताए ।

शाखाले पुस २ गते आवेदन खुला गरेको थियो । आवेदन खुला गरेको दिनदेखि नै ठूलो संख्यामा आवेदन परेकाले यो वर्ष हालसम्मकै बढी आवेदन परेको शाखाले जनाएको छ ।

शाखाले गत मंसिर १९ गते प्रकाशित २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको लागि आवेदन माग गरेको थियो । कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजारको हाराहारीमा नेपाली लैजाने भनी सूचनामा उल्लेख गरेको थियो ।

त्यस्तै, सीप बिल्डिङमा अनुतीर्ण परीक्षार्थीका लागि पनि आवेदन दिनका लागि छुट्टै व्यवस्था गर्ने तयारी गरेको छ । त्यसमा अझै करिब ३० हजारले आवेदन दिन सक्नेछन् । उक्त आवेदन परे उत्पादनमूलक क्षेत्रमा १ लाख ७५ हजारको आवेदन पर्न सक्ने अनुमान गरिएको छ ।

उच्च अदालत पाटनले सीप बिल्डिङमा अनुतीर्णहरुलाई उत्पादन क्षेत्रको आवेदनमा समावेश गराउन आदेश दिएको थियो । उक्त आदेश आएपनि निर्णय भने भइ नसकेको उनले बताए ।

‘अहिले उक्त विषयमा छलफल भइरहेको छ । उक्त आवेदनकर्ताहरुका लागि अन्य कुनै दुई दिन छुट्टै आवेदनका लागि समय खुलाउने तयारी भइरहेको छ,’ उनले भने ।


क्लिकमान्डु