ईपीएसमा १ लाख २५ हजार आवेदन, सिप बिल्डिङको लागि फारम भर्न छुट्टै समय दिने तयारी



काठमाडौं । कोरियन भाषा परीक्षा (एपीएस)मा उत्पादनमूलक क्षेत्रमा हालसम्मकै उच्च आवदेन परेको छ । ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले हालसम्ममा १ लाख १५ हजार आवेदन स्वीकृत भइसकेको बताए । उनकाअनुसार अझै १० हजार आवेदन पाइपलाइन भएकाले उत्पादनमूलक क्षेत्रमा हालसम्मकै धेरै आवेदन परेको हो ।

पुस २ गते आवेदन खुला गरिएको थियो । आवेदन खुला गरेको दिनबाटै उच्च आवेदन परेको शाखाले जनाएको छ । सुवेदीले उच्च आवेदन भएकाले सर्भरमा सुस्तता आएको जानकारी दिए ।

‘हालसम्म एक लाख १५ हजारको आवेदन स्वीकृत भइसकेको छ भने १० हजार पाइपलाइन छन्,’ उनले क्लिकमान्डुसँग भने, ‘आजको राति १२ बजेसम्म आवेदन दिने समय भएकाले अझै १० हजार भन्दा बढी आवेदन पर्ने देखिन्छ ।’

शाखाले गत मंसिर १९ गते प्रकाशित २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको लागि आवेदन माग गरेको थियो ।

कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजारको हाराहारीमा नेपाली लैजाने सूचनामा उल्लेख गरेको थियो ।
त्यस्तै, सिप बिल्डिङ (जहाज निर्माण सम्बन्धी) मा अनुत्तीर्ण परीक्षार्थीका लागि पनि आवेदन दिनका लागि छुट्टै व्यवस्था गर्ने तयारी गरेको सुवेदीले जानकारी दिए । उच्च अदालत पाटनले सीप बिल्डिङमा अनुत्तीर्णहरुलाई उत्पादन क्षेत्रको आवेदनमा समावेश गराउन आदेश दिएको थियो । उक्त आदेश आए पनि निर्णय भने भइनसकेको उनले बताए ।

‘अहिले उक्त विषयमा छलफल भइरहेको छ । उक्त आवेदनकर्ताहरुका लागि अन्य कुनै दुई दिन छुट्टै आवेदनका लागि समय खुलाउने तयारी भइरहेको छ,’ उनले भने ।

आवेदनका लागि आज अन्तिम दिन भएको र त्यस्ता आवेदनकले फाराम भर्न नपाउने भएकाले शाखाले अनुत्तीर्ण विद्यार्थीहरुका लागि मात्रै दुई दिन दिने बारेमा छलफल भइरहेको उनको भनाइ छ । ति परीक्षार्थीहरुले पनि आवेदन दिएमा यो वर्ष विगतको वर्षहरुको तुलनामा दोब्बर फाराम पर्ने देखिन्छ । उनकाअनुसार उत्पादनमूलक क्षेत्रमा सीप बिल्डिङसहित १ लाख ५० हजार बढी आवेदन पर्ने देखिएको छ ।


क्लिकमान्डु