पोखरा र भैरहवाबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग



कास्की । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा  र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त रूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूहरूको मागको सुनुवाइ नभएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उनको भनाइ छ ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रूपमा सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिए ।

कार्यक्रममा होटल संघ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत संघले विभिन्न पाँच प्याकेज सार्वजनिक गरेको छ ।

प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन् । होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यबीचका छन् ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप दुई दशकअघि सञ्चालित अभियानमा भैरहवाका साथै नेपालगन्ज, धनगढी र महेन्द्रनगर पनि समेटिएको संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

अभियानको उद्देश्य पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने रहेको छ । संघका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने विश्वास व्यक्त गरे ।

पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड रहेको र १५ हजारले रोजगारी पाएको कार्यक्रममा जानकारी गराइएको छ ।


क्लिकमान्डु