हवाइ सुरक्षा व्यवस्थित तुल्याएर कालोसूचि हटाउने प्रयासमा छौंः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचिबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आफूहरु प्रयत्नशील रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचिबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाइ क्षेत्रलाई कालोसूचिबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचिबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।

प्रधानमन्त्रीले प्रचण्डले आफूले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको बताए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको बताउँदै हवाइ सुरक्षा नेपालका निम्ति एउटा चुनौतीको विषय बन्दै आएको जिकिर गरे । उनले भने, ‘यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’

‘यसपटक हवाइ सुरक्षामा केही सुधार भएको छ। त्यसको आधारमा इयुको कालोसूचिबाट हट्छौँ कि भन्ने विश्वास थियो’ , प्रधानमन्त्रीले भन्नुभयो, ‘तर हाम्रो सुधार पर्याप्त भएन। थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ। तपाईहरूले दिएका सुझाव महत्त्वपूर्ण छन्। नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ।’


क्लिकमान्डु