क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न २५ लाख धरौटी राख्नुपर्ने
काठमाडौं । क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
क्यासिनोले २४ महिना अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था गरेको हो । क्यासिनोले आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा प्रति कारोबार स्थानको लागि १० लाख रुपैयाँबराबरको २४ महिना अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।
बैंक जमानतको सट्टामा सोही रकम बराबरको नगद धरौटीसमेत राष्ट्र बैंकमा राख्न सकिने व्यवस्था गरेको छ । क्यासिनोले इजाजतपत्रको म्याद समाप्त हुनुअगावै नवीकरण शुल्क १ लाख रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरेको कागजातसहित नवीकरणको लागि निवेदन दिनुपर्नेछ ।
आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा नवीकरण शुल्कबापत ५० हजार रूपैयाँ राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ । यसअघि इजाजतपत्र प्राप्त गरिसकेका क्यासिनोले नवीकरणका लागि निवेदन पेस गर्दा बैंक जमानत वा नगद धरौटी पेस गर्नुपर्नेछ ।
म्यादभित्र नवीकरण नगराएमा म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणका लागि निवेदन दिएमा नवीकरण शुल्कको दोब्बर रकम लिई इजाजतपत्र नवीकरण गर्न सकिनेछ । इजाजतपत्र नवीकरण नगर्ने क्यासिनोको बैंक जमानत वा नगद धरौटी जफत गरी इजाजतपत्र/नवीकरण शुल्कबराबरको रकम जरिवाना स्वरुप कट्टा गरी बैंक जमानत वा नगद धरौटी फिर्ता गरिनेछ भने इजाजतपत्र स्वतः रद्द हुनेछ ।
क्यासिनोले इजाजतपत्रको म्याद समाप्त हुनुअगावै इजाजतपत्र खारेजीका लागि निवेदन दिएमा इजाजतपत्र रद्द गरी बैंक जमानत वा नगद धरौटी फुकुवा गर्न स्वीकृति दिन सकिनेछ ।