वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिने म्याद



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिनको म्याद दिएको छ ।

मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क रुपमा सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने संस्थाका लागि सूचीकृत हुन १५ दिनको म्याद दिएको हो ।

मन्त्रालयले मंसिर २० गते स्वीकृत गरेको वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तालिम सञ्चालन गर्ने संस्थाका लागि आवश्यक न्यूनतम मापदण्डसम्बन्धी कार्यविधि २०८० अनुसार दर्ता हुन आह्वान गरेको छ ।

यस्ता संस्थाले मुख्यगरी हाउस किपिङ, सरसफाइ, बगैँचासम्बन्धी, खाना पकाउने, सुरक्षा गार्ड, रंग लगाउने, वेल्डिङ, बिजुली मर्मतसम्भार, प्लम्बिङ, स्याहारसुसार, कपाल काट्ने, कुलिनरी आर्ट, हस्पिटालिटीलगायतका क्षेत्रमा तालिम दिने मापदण्डमा उल्लेख गरिएको छ ।

सूचीकृत हुने संस्थामा संस्थापकमध्येमा कम्तीमा एक जना स्नातक उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था मापदण्डले गरेको छ । त्यस्तै, संस्थाका सञ्चालकमध्ये एक जना वैदेशिक रोजगारसम्बन्धी एक वर्ष तालिम सञ्चालनको अनुभव भएको हुनुपर्ने तथा फौजदारी अभियोग वा वैदेशिक रोजगारसम्बन्धी कसुरमा सजाय नपाएको हुनुपर्नेछ ।

संस्थाका संस्थापक वा सञ्चालकले यसअघि वैदेशिक रोजगारीमा श्रमिक पठाउने संस्था, घरेलु तालिम वा अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थामा आबद्ध भएर खारेजीमा नपरेको हुनुपर्ने जस्ता व्यवस्था मापदण्डमा छन् । यीबाहेक तालिमअनुसार आवश्यक सामान उपलब्ध भएका संस्था यो मापदण्डअनुसार योग्य हुने र सूचीकृत हुनसक्ने मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु