बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट, सन् २०२४ को पहिलो त्रैमासदेखि पठाइने



काठमाडौं । बेलायत रोजगारीका लागि ४५ जना नर्स अन्तर्वार्तामा छनौट भएका छन् । सरकारले जीटूजीमार्फत रोजगारी सम्झौता गरेपछि पहिलोपटक बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट भएका हुन् ।

बेलायत सरकारले फेस-टु-फेस अन्तर्वार्ता लिएको थियो । २०७९ को भदौमा नेपाल र बेलायतबीच रोजगारीका लागि सम्झौता भएको थियो । सोही सम्झौताअनुसार पहिलो चरणमा बेलायत स्वास्थ्य क्षेत्र रोजगारीका लागि  आवेदन माग भएको थियो । जसमा बेलायत सरकारले पहिलो चरणमा एक सय नर्स माग गरेको थियो ।

सरकारले माग गरेको आवेदनमा ८२ जनाले मापदण्डअनुसार कागजात पेस गरेका थिए । त्यसमध्ये मापदण्ड पूरा गरेका ७१ जना नेपाली नर्स छनोट भएका थिए । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आवेदन दिएकामध्ये ७१ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

७१ जना अन्तर्वार्ताका लागि छनोट भएकामध्ये अहिले ४५ जना नर्स अन्तर्वार्ताबाट छनोट भएका छन् । मंसिर १८ देखि २१ सम्म भएको अन्तर्वार्ताबाट ४५ जना छनोट भएको विभागले जनाएको छ । विभागका अनुसार अन्तर्वार्तामा ६० जना सहभागी भएका थिए ।

अन्तर्वार्ता नेपालस्थित बेलायती दूतावासमा लिइएको थियो । बेलायतको ह्याम्पसायर हस्पिटल एनएचएस फाउन्डेसन ट्रस्टका नर्सहरूले अन्तर्वार्ता लिएका थिए ।

सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाइने जारी सूचनामा उल्लेख छ । सम्झौताअनुसार बेलायतमा काम गर्न जाने नर्सहरूले न्यूनतम मासिक २ हजार ३६७ पाउन्ड तलब पाउनेछन् ।

उक्त तलबको हिसाब गर्ने हो भने नेपाली नर्सहरुले बेलायतमा वार्षिक २८ हजार ४०४ पाउन्ड (४५ लाख ७७ हजारभन्दा बढी) कमाउनेछन् । शून्य लागतमा जान पाउने नेपाली नर्सले बेलायतमा पाँच वर्ष काम गर्न पाउनेछन् ।


क्लिकमान्डु