‘कमाएर खाने जग्गाको अधिकार नहुँदा मन दुख्छ’



चितवन । उदयपुरको बेलका नगरपालिका-१ आम्बासीकी बालकुमारी प्रधानले कमाउँदै आएको जग्गाको धनी पुर्जा पाउने आश गरेको धेरै समय बित्यो । राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन उदयपुरबाट चितवन आएकी उनी पुर्जा पाउने आशमा मञ्चका विभिन्न आन्दोलनमा सहभागी हुँदै आएकी छन् ।

जन्मघरदेखि कर्मघरसम्म भूमिहीन भएका कारण आन्दोलनमा उत्रिनुपरेको प्रधानले बताइन् । राज्यले आफूहरुलाई जग्गा धनी पुर्जा दिन्छ भन्ने आश मर्न थालेको उनको भनाइ छ ।

‘पाउने आश भए त ढुक्कसँग घरमा नै बसिन्थ्यो । राजनीतिक खिचातानीका कारण सम्भावना निकै कम भएकाले विभिन्न भूमि अधिकारको कार्यक्रममा हिँड्नुपरेको छ । पुर्जा पाउने पूरै आश भने मारेको छैन,’ उनले भने ।

गाउँमा पाँच सय घर सुकुम्बासी रहेको प्रधानले बताइन् । आफूले चार कठ्ठा जग्गा कमाएर खाँदै आए पनि त्यसको अधिकार आफूसँग नहुँदा मन दुखेर खिन्न लाग्ने गरेको उनको भनाइ छ । ‘आफू त जन्मेदेखि मर्ने बेलासम्म भूमिहीन भइयो, आउने पुस्तामा यस्तो नहोस् भन्ने लाग्छ,’ उनले भनिन् ।

यस्तै पीडा छ, बर्दियाको बडैयाताल गाउँपालिका-६ मैनापोखरका केशबहादुर विकको । तीन पुस्तादेखि मैनापोखर बस्दै आएका उनी अहिले पनि भूमिहीन छन् । बाजेले कमाएको जमिन भाग लगाउँदै गर्दा उनको भागमा १५ धुर घडेरीमात्रै परेको थियो । तर, अहिलेसम्म पनि आफ्नो नाममा पुर्जा नहुँदा निकै पीडा हुने गरेको दुखेसो पोखे ।

‘आयोगले नापजाँच गर्छ तर पछि वन र खोलाको क्षेत्र भनेर हामीलाई दिँदैन,’ उनले भने । उनको १३ जनाको परिवार त्यही जग्गामा उब्जेको अन्नबाट जीविकोपार्जन गरिरहेको छ । उनले बडैयाताल-६ मा १४ घरधुरी भूमिहीन परिवार रहेको जानकारी दिए ।

वर्षौंदेखि कमाएको जमिनको पुर्जा पाउनुपर्छ भन्ने माग उनको छ । भूमि अधिकारसम्बन्धी कुनै कार्यक्रम हुँदा पुर्जा पाउने झिनो आशमा उनी छन् ।

आफू बस्दै आएको जमिन बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा परेपछि २०४२ सालमा बर्दियाकै गुलरिया नगरपालिका-१ कमलपुर पुगेका मनबहादुर सुनार कमाउँदै आएको जग्गा अर्काले मेरो हो भनेर दाबी गरेपछि थप पीडामा छन् ।

उनीसँगै आएका अन्यले जग्गा धनी प्रमाण पुर्जाको प्रक्रियामा रहदा आफू भने अहिलेसम्म पनि अलमलमा परेको सुनारले गुनासो गरे । उनले भने, ‘सबैले आ-आफ्नो जग्गा भनेर अधिकार जमाएका छन् । मैले कमाएको जग्गा अर्कैको नाममा छ भनेर समयसमयमा दुःख दिन आउँछन् । भूमिहीन त छँदै छु, त्यसमाथि पनि थप पीडा भइरहेको छ ।’

त्यसैगरी धनुषाका कण्ठा दमाईं (इच्छाराम परियार) २०४२ सालदेखि मिथिला नगरपालिका-१० लालगढमा बस्दै आएका छन् । उनी दुई कठ्ठा जग्गामा बसोबास गर्छन् । उनले पुर्जा पाउने आशमा आफ्नो जिन्दगी सकिएको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले स्थानीय तहसँग समन्वय गरेर भूमिहीनका लागि जग्गा पुर्जा वितरण गर्ने काम भइरहेको बताए । विभिन्न ऐन र कानुनका कारण भूमिहीन किसानलाई पुर्जा वितरण गर्न समस्या भएको उनको भनाइ छ । यसको दीर्घकालीन समाधान हुने गरी आयोगले काम गर्दै आएको उनले जानकारी गराए ।

निरौलाका अनुसार १३ लाख ५० हजारले फाराम भरेकोमा १० लाखको मात्र दर्ता भएको छ । दुई लाख २१ हजारको कित्ताकाट भइसकेको छ भने हालसम्म पाँच हजारले जग्गाधनी पुर्जा पाएका छन् ।


क्लिकमान्डु