सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य



गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए ।

उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।

‘इम्बोस्ड नम्बर प्लेट जडान त पोखरामा पहिलेदेखि नै सुरु भएको हो, तर त्यति प्रभावकारी हुनसकेको थिएन’, कार्यालय प्रमुख रिजालले भने , ‘अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ, पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुन्छ ।’

कार्यालयले सेवाग्राही र अटो व्यवसायीमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर’ जडानका लागि सूचितसमेत गरेको छ । ‘अब उप्रान्त यस कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधन दर्तापश्चात अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ दर्ता जडान गरेपछि मात्र आधिकारिक कागजात उपलब्ध गराइनेछ’, कार्यालयको सूचनामा उल्लेख छ ।

प्रविधिमा आधारित ‘इम्बोस्ड नम्बर प्लेट’मा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुने कार्यालय प्रमुख रिजालले बताए ।


क्लिकमान्डु