दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चमा बहस भइरहँदा भाषण गर्दै हिँडेको प्रसँग उठेपछि…
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।
बिहीबार बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तीनकुनेमा आन्दोलन घोषणा गरेका थिए ।
उक्त दिन आन्दोलनमा जान लागेका प्रसाईंलाई सुरक्षा निकायले घरमै नजरबन्दमा राखेको भन्दै प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए ।
उक्त रिट आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । रिटमाथिको बहस हुँदै गर्दा प्रसाईं खुला रुपमा भाषण गरिरहेको प्रसंग उठेको थियो ।
नजरबन्दको अवस्थामा रिट दायर भएको भए पनि अहिले त्यो अवस्था नरहेको भन्दै भण्डारीले रिट फिर्ता लिए ।
शुक्रबार प्रसाईंले आफूलाई घरमै नजरबन्दमा राखिएको आरोप लगाएका थिए । जिल्ल्ला प्रशासन कार्यालय भक्तपुरले भने प्रसाईंलाई सुरक्षा दिएको बताएको थियो ।
शनिबार भने प्रसाईंले सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।