सिफलमा दुर्गा प्रसाईद्वारा प्रदर्शन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गरेको छ।
काठमाडौं जिल्ला प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न नदिएपछि प्रसाईंले सिफल चौरमा कार्यक्रम गरेको हो। कार्यक्रममा हिन्दु धार्मिक गुरुहरुले सम्बोधन गरेका छन् ।
प्रसाईंको कार्यक्रममा सहभागी हुन देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आएका छन्। सर्वसाधारणमा पनि विशेषगरी लघुवित्त पीडितहरू छन्।
अभियानले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ प्रदर्शनस्थलबारे छलफल गरेको थियो। दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएको थियो।
प्रसाईंको अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेको हो। पहिलो दिन बल्खुमा आयोजना गरिएको कार्यक्रम निकै तनावपूर्ण भएको थियो।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार भने सुरक्षा चुनौती देखाउँदै तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएको थिएन।
प्रहरीको सुरक्षा घेरामा शुक्रबार विहानदेखि आफ्नै निबासमै नजरवन्दमा परेका प्रसाँई शनिबार दिउँसो बाहिर निस्किएका थिए ।
सिफलमा कार्यक्रम गर्ने तय भएपछि दिउसोदेखि प्रसाँईका समर्थनहरु सिफलमा जम्मा भएका थिए । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरिएको थियो ।
उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।