अपडेट: नजरबन्दबाट बाहिर निस्किए दुर्गा प्रसाईँ, प्रहरी स्कर्टिङमा सिफल जाँदै, सुरक्षा कडा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सिफलमा हुने आन्दोलनमा सहभागी हुन निवासबाट निस्किएका छन् । प्रहरीको सुरक्षा घेरामा शुक्रबार विहानदेखि आफ्नै निबासमै नजरवन्दमा परेका प्रसाँई शनिबार दिउँसो बाहिर निस्किएका छन् ।
सिफलमा कार्यक्रम गर्ने तय भएपछि दिउसोदेखि प्रसाँईका समर्थनहरु सिफलमा जम्मा हुन थालेका छन् । उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरिएको थियो ।
उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।
उनले निवासबाट नै हिजो ‘घरमा दुई जना डीएसपी आएर तपाई घरबाट बाहिर निस्किन पाउनुहुन्न’ भनेकाले आफू ननिस्किएको बताएका थिए ।
उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगिरहेको छ ।
युवा संघका नेता कार्यकर्ताहरूले बाटोमा अवरोध गर्न सक्ने भन्दै आफूहरू सचेत भएर आन्दोलनस्थलतर्फ गइरहेको प्रसाईँ समूहका व्यक्तिहरू बताउँछन् ।
प्रसाईले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशालास्थित सिफल चौरमागर्न लागेका हुन् ।
कोटेश्वरस्थित तिनकुनेमा स्थानीय प्रशासनले कार्यक्रम गर्न नदिएपछि प्रसाईले सिफलमा कार्यक्रम गर्ने तयारी गरेका हुन् । सिफलमा कार्यक्रम गर्ने तयारी गरेपछि सरकारले सुरक्षा पनि कडा पारेको छ । सिफलको घर र कौसीमा प्रहरी परिचालन गरिएको छ भने आसपासको क्षेत्रमा कुकुरसमेत परिचालन गरिएको छ ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।