विर्तामोडमा आज राजावादीको शक्ति प्रदर्शन, विर्तामोड पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् ।
कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ ।
आज ८ हजार मोटरसाइकल र्याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरी बिर्तामोडसम्म ल्याएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा बिर्तामोडमा सर्वसाधारणको भीड लागेको छ। नाचगानसहित सर्वसाधारण उपस्थित भएका छन्।