दुर्गा प्रसाईंको गृहजिल्ला पुगे पूर्वराजा, शक्ति प्रदर्शन गर्ने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । शाह शुक्रबार अपराह्न झापा पुगेका हुन् । उनी काठमाडौंबाट बुध्द एयरको विमानमा झापा गएका थिए ।

झापाबाट केही दिन अघिमात्र काठमाडौं आइपुगेका व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा बिहीबारबाट राजतन्त्रको पक्षमा तीनेदिने प्रदर्शन गरिरहँदा पूर्वराजा भने झापा पुगेका हुन् ।

पूर्वराजाको झापा भ्रमणलाई सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले तयारी गरेको छ । त्यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता झापामै बसेर व्यवस्थापन मिलाइरहेका छन् ।

झापामा पूर्वराजालाई राप्रपाले मोटरसाइकल र्‍यालीमार्फत बिर्तामोड पुर्‍याउने तयारी गरेको छ । र्‍यालीमा ५ हजार बढी मोटरसाइकल हुने दाबी गरिएको छ ।

पूर्वराजा सवारीबाट ओर्लिएपछि केहीबेर पैदल यात्रा गर्ने र जनप्रदर्शनसहित पूर्वराजाको स्वागत गर्ने राप्रपाको तयारी छ ।

शनिबार दिउँसो १२ बजे मेचीनगरबाट र्‍याली प्रारम्भ हुने र १ बजे इकम कलेजमा शालिक अनावरण हुने कार्यक्रम राखिएको राप्रपाले जनाएको छ ।

पूर्वराजा नागरिकहरुको स्वागत अभिनन्दन ग्रहण गर्दै इकम क्याम्पसमा पुग्ने छन् । त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिक पूर्वराजाले अनावरण गर्ने कार्यक्रम छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पूर्वले परिवर्तनको सन्देश दिने बताउँदै मंसिर ९ मा राजा र जनता एक ठाउँमा हुने बताए । उनले राजाको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताए ।


क्लिकमान्डु