४० होटलमा ३० जुवाघर: नेपालीलाई क्यासिनोमा किन पस्न दिइँदैन ?



काठमाडौं । नेपालमा अहिले ३० वटा जुवाघर (क्यासिनो) कम्पनी छन् । यी कम्पनीले नेपालका ४० वटा होटलमा क्यासिनो चलाइरहेका छन् । सिमराको इच्छाबाहेक सबै पाँचतारे होटलमा क्यासिनो सञ्चालनको पूर्वाधार छ ।

हाल नेपालमा १८ वटा पाँचतारे होटल छन् । यसमध्ये हाल १३ वटा होटलमा मात्रै क्यासिनो चलिरहेको छ । बाँकी होटल बन्द भएकाले क्यासिनो नचलेको पर्यटन विभागले जानकारी दिएको छ । होटल बन्द भए पनि दरबारमार्गको डेल अन्नपूणर्मा भने निर्वाध रुपमा क्यासिनो चलिरहेको छ ।

पाँचतारेबाहेक काठमाडौंबाहिरका चारतारे र सरहका ३० वटा होटलमा क्यासिनो सञ्चालन भइरहेको छ । विदेशी पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले खुलेका यस्ता क्यासिनोको कमाइ आकर्षक हुने गरेको छ । एक पर्यटन व्यवसायीका अनुसार क्यासिनो प्रवेश गर्ने विदेशीले जितेको रकममध्ये ६० प्रतिशत सोही ठाउँमा खर्च हुन्छ । जसका कारण एउटा विदेशी प्रवेश गरे पनि सो क्यासिनोमा गर्ने खर्च उल्लेख्य हुन्छ ।

क्यासिनोमा जति धेरै विदेशी पस्छन्, उति आकर्षक कमाइ हुने भएकाले पनि नेपालका स्तरीय होटलमा क्यासिनो सञ्चालनको होडबाजी नै चल्ने गरेको छ । क्यासिनोबाट हुने आकर्षक कमाइका कारण पनि एउटै सञ्चालकले विभिन्न नाममा क्यासिनो सञ्चालनमा रजगज नै चलाइरहेका छन् ।

क्यासिनो सञ्चालनका लागि भने सरकारले चर्को शुल्क लिने गरेको छ । एउटा क्यासिनो चलाउन वार्षिक ३ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्छ । सरकारले पाँचतारे होटलमा दिने अनुमतिलाई क्यासिनो र त्योभन्दा कम स्तरका होटलमा मिनी क्यासिनो सञ्चालन गर्न अनुमति दिएको छ । आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल (मिनी क्यासिनो)ले भने वार्षिक ७५ लाख रुपैयाँ रोयल्टी तिरे पुग्ने व्यवस्था सरकारले गरेको छ ।

क्यासिनो खेल्ने पर्यटकले खेलेकै स्थानमा जितेको रकमको २५ प्रतिशत आकस्मिक लाभकर तिर्नुपर्छ । यस्तो लाभकर सम्बन्धित खेलाडीले गर्ने जितमा क्यासिनोले संकलन गरेर सरकारलाई राजस्वका रुपमा बुझाउनुपर्छ । क्यासिनो खेल्न नेपालमा अधिकांश चिनियाँ र भारतीय नागरिक आउने गरेका छन् ।

विदेशीले नेपालमा आएर क्यासिनो खेल्नु मनोरञ्जनका लागि मात्रै नभएर कालो धनलाई क्यासिनो जितेको भनेर सेतो बनाउनु पनि भएको एक व्यवसायीले बताए । जसका कारण थोरै रकम जित्ने विदेशीले पनि धेरै जितेको भनेर सर्टिफिकेट बनाउँछन् । जसको लाभ सम्बन्धित क्यासिनोलाई नै हुने गरेको छ ।

क्यासिनोमा नेपालीलाई भने प्रवेश निषेध छ । नेपालीले जुवा खेलेर घरबारै सक्ने, आफ्नो क्षमता र हैसियतभन्दा बढी खेल्ने भन्दै सरकारले २०७० सालमा क्यासिनो नियमावली नै जारी गरेर नेपालीलाई प्रतिबन्ध लगाएको हो ।

नेपालमा विदेशीले मात्रै प्रवेश पाउने भए पनि सबैजसो क्यासिनोमा उत्तिकै आकर्षण हुन्छ । विदेशी पर्यटकको आगमन बढ्दै जाँदा क्यासिनो प्रवेश गर्नेको संख्या पनि त्यत्तिकै हुने गरेको छ ।

नेपाल क्यासिनो पर्यटकको लागि राम्रो सम्भावना भए पनि सरकारले प्रवर्धन नगरेका कारण अपेक्षाअनुसार व्यवसाय हुन नसकेको क्यासिनो संघ नेपालका अध्यक्ष किशोर सिलवालको भनाइ छ । ‘एकातर्फ नेपाल आउने विदेशीलाई हवाई टिकट महँगो छ भने अर्कोतिर नियम कानुन अधिक कसिलो बनाएर सेवा दिनै गाह्रो बनाइएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘विदेशीले क्यासिनो खेल्न र लाभ लैजान पनि झन्झटिलो भएकाले सम्भावना भएर पनि आकर्षित हुन सकिरहेको छैन ।’

नेपालका क्यासिनोको सञ्चालनमा सरकारले सहजीकरण गर्ने हो भने विदेशी पर्यटक आकर्षित गर्न सकिने क्यासिनो प्राइडका सञ्चालक विनय शाहले बताए । उनले पनि सरकारले कसिलो नियम कानुन ल्याएकै कारण सहजै सेवाको वातावरण नभएको तर्क गरे ।

कहाँ-कहाँ छन् क्यासिनो ?

अहिले नेपालमा सञ्चालन भइरहेका सबै पाँचतारे होटलमा क्यासिनो छन् । सञ्चालन भएका क्यासिनोमा सोल्टीमा माजोङ इन्टरटेन्मेन्ट, हायातमा प्राइड इन्टरनेन्मेन्ट, अन्नपूणर्मा एटलान्टिक रिक्रियसन र मल्लमा बेल्लिज नेपाल छ ।

यस्तै सोल्टी शिवक्रिममा इम्पेरियल इन्टरनेन्मेन्ट, मेची क्राउनमा भेगास रिक्रियसन, अलफ्टमा वाल्डो डाइनेष्टी र द किङ्सबरीमा किङ्सबरी इन्टरटेन्मेन्ट रहेको पर्यटन विभागले जानकारी दिएको छ ।

यी बाहेक ६ वटा होटलमा रहेको क्यासिनो भने होटल नै नचलेको र नवीकरण फेल भएका कारण सञ्चालनमा आएका छैनन् । हाल सञ्चालनमा नभएका याक एण्ड यतिको क्यसिनो रोयल, र्‍याडिसनको क्यासिनो र्‍याड छ ।

काठमाडौंको सांग्रिला र भैरहवाको टाइगर वान होटलमा रहेको एचएचएल म्यानेजमेन्ट (केटीएम) अहिले सञ्चालनमा छैन । यी बाहेक काठमाडौं र बाहिरका केही होटलमा क्यासिनो मिनी छन् ।


राजु बास्कोटा