पीपीपी मोडेलमा चोभार बन्दरगाह सञ्चालन गर्न कम्पनी छनोट



काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहलाई सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडेलमा सञ्चालन गर्नका लागि कम्पनी छनोट भएको छ । उक्त बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको लागि ग्लोबल टेण्डरमार्फत ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी विराटनगर छनोटमा परेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीले ५ वर्षको लागि २ करोड ८८ लाख रुपैयाँमा उक्त बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाएको हो ।

कम्पनी छनोटका लागि समितिले गत साउनमा ग्लोबल टेण्डर आह्वान गरेको थियो । यसमा ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीसहित न्यू नेपाल ढुवानी सेवा वीरगञ्ज सहभागी भएका थिए ।

‘सहभागी दुई कम्पनीमध्ये मूल्यांकन प्रक्रियाबाट ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी छनोट भएको हो,’ समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘सुक्खा बन्दरगाहको सञ्चालन र व्यवस्थापनको जिम्मेबारी निजी क्षेत्रलाई दिँदा प्रभावकारी रुपमा सञ्चालन हुनुका साथै राजस्वसमेत वृद्धि हुने अपेक्षा गरेका छौं ।’

चोभार सुक्खा बन्दरगाह सञ्चालन भएको करिब २० महिना पुगेको छ । यो वन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु-दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्य द्वारदेखि चोभार सुक्खा वन्दरगाहसम्मको सडक चौडा पारेर चार लेनमा परिणत गर्नुपर्ने र निजगढ-काठमाडौं द्रुतमार्गको निर्माण पनि चाँडै गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।


क्लिकमान्डु