धनतेरस भोलि, १ बजेपछि सामान खरिद गर्दा लाभ



काठमाडौं । धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । यस दिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । शुक्रबार हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् ।

शुक्रबार मध्याह्न १२ बजेर ५० मिनेटपछि मात्र त्रयोदशी लाग्ने भएकाले सो मसय कटेपछिमात्र सामग्रीहरु किन्नु पर्छ । धनतेरसका दिन खरिद गरेका सामाग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ।

धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मी र गणेशजीको मुर्ति, तस्बिर घर भित्र्याउनु फलदायी हुने धार्मिक मान्यता छ । माटोको मुर्ति वा तस्बिर पनि लिन सकिन्छ ।

धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दा स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी मानिन्छ ।

धनतेरसको दिन किनेको सामान घरको पूर्व-उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई घरमा विराजमान हुने विश्वास छ । यस दिनकालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ । यसदिन कुचो लगायतका सामग्री किन्ने प्रचलन पनि रहेको छ ।

धनतेरसमा गर्नु पर्ने कामहरु

दियो बाल्ने
धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।

यो मन्त्रका साथ जप गर्नुपर्छ

साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।

२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ

राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी-कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।

श्रीसूक्तको पाठ गर्नुपर्छ

धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा तपाईलाई लाभ हुन्छ भन्ने विश्वास छ ।

चाँदीको सिक्का

धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।

धन सम्बन्धी समस्याको कमी

यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।

धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास

ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।

पर्समा राख्नुपर्ने कुरा

धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।

श्रीयन्त्रको पूजा

धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।


क्लिकमान्डु