सिँगारिएका शक्तिपीठ (तस्बिरहरु)
काठमाडौं । हिन्दू नेपालीहरुको चाड दसैं यतिबेला चलिरहेको छ । नवरात्रि भनिने यस समयमा शक्तिको उपासना र आराधना गरिने गरिएको छ । देशभरका विभिन्न क्षेत्रका देवी मन्दिर एवं शक्तिपीठहरुलाई सजाइएको छ भने भक्तजनहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
उपत्यका बाहिरकासहित काठमाडौंको मैतिदेवी, नक्साल भगवती, भद्रकाली लगायका शक्तिपीठहरुमा मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
दुर्गा पक्षको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ ।
यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैं पर्व मनाउँछन् ।