इसेवाले ल्यायो आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र
काठमाडौं । डिजिटल माध्यमबाट जनजीवनलाई थप सहज बनाउन नवीन कार्यहरू गर्दै आएको इसेवाले डिजिटल कारोबारलाई सजिलो बनाउन आवाजबाटै कारोबारको विवरण बताउने इस्पिकर यन्त्र सार्वजनिक गरेको छ ।
सिम कार्ड तथा वाई-फाईमार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने इसेवाले जनाएको छ। यार्सा टेकसँगको सहकार्यमा बनाइएको इस्पिकर यन्त्र पूर्णत: नेपालमै बनेको यन्त्र हो ।
इस्पिकर एक अडियो अलर्ट यन्त्र हो, जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ । यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ ।
यसअघि ग्राहक तथा व्यवसायीले क्यूआरमार्फत आएको भुक्तानी पूरा भए/नभएको तुरुन्तै पुष्टि गर्न केही असहज थियो । कहिलेकाहीँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्न मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो ।
त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिन सट देखाएर विश्वास दिलाउनुपर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भए/नभएको पुष्टि गर्न व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन । कुनै व्यवसायीले कर्मचारीमार्फत व्यापार व्यवसाय सञ्चालन गर्दा कारोबार पूरा भए/ नभएको यकिन गर्नसमेत झन्झट हुन्थ्यो ।
एफ वान् सफ्ट ग्रुप टावरमा कात्तिक १ मा इस्पिकर यन्त्रको लोकार्पण भएको छ । कार्यक्रममा एफ वान् सफ्टका डाइरेक्टर सुवास शर्माले नेपालमै बनेको यस उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए ।
इसेवाको वेब वा एपको प्रयोग गरी सजिलै इस्पिकर यन्त्र मगाउन सकिनेछ । यो यन्त्र अर्डर गर्न इसेवाको ‘न्यु सर्भिसेस’मा गई ‘इस्पिकर रिक्वेस्ट’ छान्नुपर्छ । त्यसपछि फाराम भर्नुपर्नेछ ।
इस्पिकर यन्त्र दुई तरिकाले मगाउन सकिने कम्पनीले जनाएको छ । व्यवसायीले एकमुष्ट रकम तिरेर वा मासिक महसुल तिरेर इस्पिकर यन्त्र मगाउन सक्नेछन् ।
एकमुष्ट रकम तिर्नेले वास्तविक मूल्य ४ हजार रुपैयाँ तिर्नुपर्नेमा चाडपर्वको अवसरमा व्यवसायीले ३६ सयमै इस्पिकर पाउन सक्नेछन् । उक्त यन्त्रमा १२ महिनाको वारेन्टी पनि रहेको इसेवाले जानकारी गराएको छ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा दुई करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।