एनआरएनए निर्वाचनः मतदान सुरु, नेपाल आइपुगे करिब ९ सय प्रतिनिधि, १० पदमा परेन उम्मेदवारी



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयन गर्न निर्वाचन जारी छ ।

विदेशमा रहेका नेपालीले भने बुधबार रातिबाट ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ गरेका छन् । पहिलो पटक अनलाइन मार्फत भोटिङ भएको हो ।

नेपालमा उपस्थित भएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेभित्र मतदान गरिसक्नुपर्नेछ।

निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार २ सय २७ रहेको छ । जसमध्ये बुधबारसम्म ९ सय हाराहारी प्रतिनिधि मतदानका लागि नेपाल आइपुगेका छन् ।

निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जनाले मतदान गर्दैछन् । अनलाइन भोटिङ हुने भएकाले मतदानका लागि २० वटा ल्यापटपको व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले व्यवस्थापन गरेको ल्यापटपबाहेक अन्य मोबाइल तथा डिभाइसबाट मतदान गर्न नपाइने प्रमुख निर्वाचन अधिकृत यादव ढुंगानाले बताए । उनका अनुसार तोकिएको निर्वाचन केन्द्रभन्दा बाहिर गएर मतदान गर्न पाइने छैन । निर्वाचनमा अध्यक्ष पदमा बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्मा (आरके) रहेका छन् ।

यस्तै निर्वाचनमा ६ उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षका लागि दुई र युवा उपाध्यक्षका लागि पनि दुई जनाकै उम्मेदवारी परेको छ भने महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

उपमहासचिव दुई पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । सचिवको ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी कायम छ । सहकोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ । ७४ पदमा नयाँ नेतृत्व चयन हुनेछ । ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी नपर्ने अधिकांश अफ्रिकन मूलका देशहरू रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । अब ४१ पदका लागि ९७ जनाको उम्मेदवारी कायम छ । ‘अनलाइन भोटिङ हुने भएकाले रिजल्ट सम्भव भएसम्म बिहीबार राति नै, नभए शुक्रबार बिहानसम्म रिजल्ट आइसक्नेछ ।


क्लिकमान्डु