बजारमा प्रतिकिलो ११५ रुपैयाँमै चिनी, कहाँ पाइन्छ ?



काठमाडौं । खुद्रा व्यापार संघले बुधबार अपराह्नदेखि ११५ रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गर्न सुरु गरेको छ । ललितपुर, भक्तपुर र काठमाडौंस्थित खुद्रा व्यापार संघको सदस्य व्यापारीमार्फत प्रतिकिलो ११५ रुपैयाँमा चिनी बिक्री गर्न सुरु गरेको हो ।

खुद्रा व्यापार संघका सह-कोषाध्यक्ष ध्रुव अधिकारीका अनुसार बुधबार महोत्तरीको एभरेष्ट सुगर मिलबाट काठमाडौं भित्र्याइएको चिनी सरकारले तोकेको मूल्यमा बिक्री गर्न सुरु गरिएको हो । चिनी खुद्रा व्यापारीले बेचिरहेका छन् ।

सरकारको विशेष आग्रहमा कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकका सञ्चालक सन्तोष खेतानले एभरेष्ट सुगर मिलबाट ६३० क्विन्टल (६३ हजार किलो) चिनी भित्र्याएका छन् ।

भित्र्याइएको यो चिनी प्रति उपभोक्ता १ देखि २ किलोका दरले उपलब्ध गराइएको छ । कारखानाबाट आपूर्ति गरिएको यो चिनी संघमा आबद्ध खुद्रा विक्रेतालाई मात्रै बिक्री गर्नका लागि उपलब्ध गराइएको छ ।

बजारमा चिनीको चर्को अभाव सिर्जना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विशेष सक्रियतामा उक्त चिनी एभरेष्ट सुगर मिलबाट आपूर्ति गरिएको हो । बिहीबार थप ९० हजार किलो (९ सय क्विन्टल) चिनी काठमाडौंमा आपूर्ति हुनेछ ।


क्लिकमान्डु