नेपाल वायुसेवाका सबै जहाज सञ्चालनमा



काठमाडौं । नेपाल वायुसेवा निगमका सबै जहाजहरु सञ्चालनमा आएका छन् । गत केही दिनदेखि निगमका जहाजहरुमा प्राविधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउण्डेड भई उडानहरु प्रभावित भएका थिए ।

निगमका प्रवक्ता रमेश पौडेलले आवश्यक मर्मत पश्चात असोज २९ गतेदेखि सबै जहाजहरु नियमित उडानमा रहेको बताएका छन् ।

चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ-आफ्नो गन्तव्यमा पुग्न सहज हुनेछ भन्ने निगमको विश्वास रहेको पौडेलले बताए ।

अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भएको र आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिवद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्ता समस्याहरु दोहोरिन नदिने गरि काम गर्न प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिँदै जहाज ग्राउण्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न निर्देशन दिएका छन् ।


क्लिकमान्डु