श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं पुग्ने झन्झट हट्यो



कञ्चनपुर । ६ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा छन् । श्रम स्वीकृतिका लागि अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी निकै खुसी छन् ।

पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा आग्रीले काठमाडौँस्थित वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका लागि मेनपावर कम्पनीका कर्मचारीको  सहयोगमा  फाराम भरेका थिए ।

‘श्रम स्वीकृतिका लागि फाराम भर्दा सम्पूर्ण व्यक्तिगत विवरण त्रुटिपूर्ण थिए,’ उनले भने, ‘तर अहिले नगरपालिकामै स्वयं उपस्थित भएर तथ्यपरक विवरण फाराममा भर्न लगाएका छौं, फाराम भर्नकै लागि काठमाडौं जाने झन्झट पनि हटेको छ ।’

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं जानुपर्दा निकै खर्च गर्नुपर्ने झन्झट, बसमार्फत जाँदा सडक अवरुद्ध हुँदाको सास्ती र होटलको खर्च निकै हुने गरेको मलेसिया जान श्रम स्वीकृतिका लागि नगरपालिका पगेका अर्का हरिश आग्रीले बताए । ‘सेवाग्राहीको चापले बिहान ४ बजे लाम बस्दा पनि पालो पाइँदैनथ्यो, फेरि दोस्रो दिनका लागि कुर्नु पर्थ्यो, दलाललाई पैसा नदिए कामै हुन गाह्रो हुन्थ्यो,’ उनले भने ।

अहिले नगरपालिकामै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था हुँदा सहज भएको उनले बताए । वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको त्यहाँका प्राविधिक सहायक धीरज ऐरको भनाइ छ ।

चालु आवको वैशाखदेखि पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृतिका लागि आवेदन लिन थालिएको छ । यो सेवा सञ्चालन भएपछि यस शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन् ।

आवेदन भर्नेहरुमा पुरुषको संख्या अधिक र महिलाको संख्या न्यून छ । श्रम स्वीकृतिका लागि फाराम भर्न आउनेमा मलेसिया, दुवई, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, पोर्चुगललगायत देशमा  रोजगारीमा जानेहरु छन् ।

‘राहदानी, वैदेशिक रोजगारीमा पठाउने कम्पनीसँगको सम्झौतापत्र, भिसा, स्वघोषणापत्र, बैंक चेक, नागरिकताको प्रमाणपत्र, इच्छाएको व्यक्तिको नागरिकता, बीमा गरेको कागजात, सामाजिक सुरक्षा कोषसँगको आबद्धता हेरेरमात्रै आवेदन भर्ने गरेका छौँ,’ प्राविधिक सहायक ऐरले भने ।

रोजगारदाता, रोजगारीमा जाने व्यक्ति र इच्छाएका व्यक्तिको नाम र ठेगानासँगै सम्पर्क नम्बर पनि राखिने भएकाले विदेशमा अप्ठ्यारो परे सहयोग गर्न सकिने उनले बताए ।

वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो र सहज बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत फाराम भर्ने व्यवस्था गरिएको रोजगार शाखाका संयोजक कृष्ण भट्टले जानकारी दिए ।

उनका अनुसार श्रम स्वीकृति लिएसँगै कल्याणकारी कोषका लागि एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि दुई हजार दुई सय बुझाउनुपर्ने हुन्छ । यसैगरी, १८ वर्षदेखि ३५ वर्ष समूहका लागि तीन हजार सात सय आठ, ३६ देखि ५० वर्ष समूहका लागि चार हजार नौ सय रुपैयाँ शुःल्क निर्धारण गरिएको छ । सेवाग्राहीले शुःल्क खल्ती एप तथा ई सेवाबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु