सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि चीनसँग सहकार्यको प्रस्ताव



चीन । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याए ।

उपप्रधानमन्त्री श्रेष्ठले कानुन कार्यान्वयन, सीमा व्यवस्थापन तथा सुरक्षा अधिकारीको क्षमता अभिवृद्धिलगायत विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने बारेमा छलफल गरेका छन् । उनले शान्ति सुरक्षा कायम गर्न तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री सियाओहङले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहायता सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु