मिटर बिगारेर कम इन्धन बेचेको पाइएपछि गैरीगाउँको पेट्रोल पम्पमा सिल
काठमाडौं । सरकारले काठमाडौंको गैरीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्पमा सिल गरेको छ । तोकिएको भन्दा कम परिमाणमा इन्धन बिक्री गरेको पाइएपछि उक्त पेट्रोल पम्पको एक नोजलमा सिलवन्दी गरिएको हो ।
पेट्रोल पम्पहरुले कम परिमाणमा इन्धन बिक्री गरेको गुनासो प्रधानमन्त्री कार्यालयमा आएको आधारमा अनुगमन गर्ने क्रममा उक्त पम्पको एउटा नोजलमा सिलवन्दी गरिएको नेपाल आयल निगमले जनाएको छ ।
कम परिमाणमा इन्धन बिक्री गरी उपभोक्ता ठगी गरेको विषयमा प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निर्देशनमा अनुगमन गरिएको हो । सो पेट्रोल पम्पले मिटर बिगारेर तोकिएभन्दा कम इन्धन बेचेको पाइएको छ ।