भदौमा ४ अर्ब कम रेमिट्यान्स आप्रवाह, दुई महिनामा २ खर्ब २८ अर्ब भित्रियो



काठमाडौं । भदौमा साउनको तुलनामा ४ अर्ब रुपैयाँ कम रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिअनुसार भदौमा ४ अर्ब रुपैयाँ कम रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकअनुसार साउनमा १ खर्ब १६ अर्ब २ करोड विप्रेषण आप्रवाह भएको थियो । उक्त रकम हालसम्मकै उच्च हो । भदौमा १ खर्ब १२ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स आप्रवाह भएको छ ।

विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले वृद्धि भई दुई महिनाको अवधिमा २ खर्ब २८ अर्ब ३७ करोड आप्रवाह भएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ ।

दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु