सहायक रथी यमप्रसाद अधिकारीका विषयमा गलत प्रचार: उपप्रधानमन्त्री खड्का



काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूणर्बहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे ।

उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो भएको बताए । ‘नेपाली सेनाको प्रधानसेनापति हुन निश्चित मापदण्ड छ,’ उनले भने, ‘ सेनाको विधानबाहिर गएर सरकारले कुनै काम गर्दैन ।’

उपप्रधानमन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन र योजना बनाउँदै अघि बढ्ने बताए ।


क्लिकमान्डु