इजरायलमा ८ वर्षमा ४८ सय नेपाली पुगे, व्यापारमा नेपाल निकै कमजोर



काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको सरकारले जनाएको छ । अन्य विद्यार्थीले भने तत्काल उद्धारका गर्न अनुरोध गरिरहेका छन् ।

नेपाल र इजरायलबीचको सम्बन्ध धेरै लामो भए पनि वैदेशिक व्यापार र रोजगारीको क्षेत्रमा भने अन्य देशको तुलनामा निकै कम देखिएको छ । इजरायल सरकारले रोजगारी खुला गरेसँगै नेपालीको आकर्षक गन्तव्य बनेको छ । इजरायलमा नेपालबाट ८ वर्षको अवधिमा करिब ५ हजार जना रोजगारीका लागि पुगेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ४ हजार ८०४ जना इजरायलमा रोजगारीमा पुगेका हुन् । नेपाली युवाको आकर्षक गन्तव्य बनेको इजरायलसँग २०७७ असोज १४ गते अस्थायी रोजगारीसम्बन्धी सम्झौता पत्रमा हस्तक्षार भएको थियो ।

सम्झौताअनुसार केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने जनाइएको थियो । त्यसमा प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुने उल्लेख थियो ।

तर, इजरायल रोजगारीमा पहिलो चरणमा केयर गिभरको प्रक्रिया अगाडि बढाएर नेपालीहरु रोजगारीका लागि इजरायल पुगेका छन् ।

पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयर गिभर पठाउने गरिएको छ । हालै मात्रै इजरायलमा रोजगारीका लागि सरकारले आवेदनका लागि आह्वान गरेको थियो ।

वैदेशिक व्यापारको तथ्यांक निकै कमजोर छ । नेपालले गत आर्थिक वर्षमा इजरायलबाट १ अर्ब ४२ करोड २२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । सोही अवधिमा नेपालबाट भने २ करोड २० लाख ७३ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । जसमा नेपालले १ अर्ब ४० करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।


क्लिकमान्डु