आरबीबी-एनबीआई सम्झौताः बैंकका १ हजार कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम दिइने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात चालु आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले एक हजार कर्मचारीलाई जान्बी, क्यान्बी, मुडिजलगायतको सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम प्रदान गर्नेछ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्न कर्मचारीलाई नियमित तालिम दिइरहेको जानकारी दिए । तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने उनले बताए ।
त्यस्तै एनबीआई प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको भन्दै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए ।
देशभर राष्ट्रिय वाणिज्य बैंकका २८४ शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, २६९ एटीएम र ९९ शाखारहित बैंकिङ इकाइ छन् ।