महँगो चाँडबाँड, खल्लो हुँदै दसैं



काठमाडौं । दसैंलगायतका चाँडबाँडको धार्मिक, सामाजिक तथा आर्थिक पक्षमध्ये पछिल्ला वर्षहरुमा आर्थिक कारणले नेपालीहरुका लागि चाडपर्व कष्टकर हुँदै गएको छ ।

अरु बेला लुगाफाटो र खानपिन जस्तो भए पनि खासै अर्थ नराख्ने नेपालीले दसैंलगायतका चाँडबाँडमा बजार चलायमान बनाउन मद्दत गर्छन् । हुन त पछिल्ला वर्षहरुमा बदलिँदो उपभोगको संस्कृतिले वर्षैभरि बजारलाई टेवा दिने गरेको छ । तर पनि नेपालीले अझै पनि ऋण काढेर भए पनि चाँडबाँड मनाउने भएका कारण दसैंको सिजनामा कुल व्यापारको एक चौथाइ व्यापार हुने व्यापारीहरु बताउँछन् ।

तर पछिल्ला एकाध वर्षदेखि विविध कारणले बढ्दै गएको चरम महँगीले यसपटकको चाँडबाँड विशेषतः दसैं नेपालीको लागि आर्थिकरुपमा कष्टकर बन्ने देखिन्छ ।

एकातिर नेपालीको आम्दानीमा वृद्धि भएको छैन भने अर्कोतिर विविध कारणले बढेको बजारभाउले अघिल्लो वर्षको दसैंको तुलनामा यो वर्षको दसैंमा उपभोक्ताको टाउकोमा महँगीको भार थपिएको छ । तुलनात्मकरुपमा अघिल्लो वर्षको दसैंमा खानेतेलले उपभोक्तालाई रुवाएको अवस्थामा यो वर्ष भने खानेतेलको घट्दो मूल्यले थोरै भए पनि राहत दिएको छ । तर, दसैंमा अत्यधिक खपत हुने चामल, चिउरा, जिरा, धुलो मसला, चिनी, घीउ, मासुलगायतको मूल्य अघिल्लो वर्षको तुलनामा बढेको छ ।

उपभोक्तालाई चौतर्फी रुपमा महँगीको मार थोपर्ने डिजेलको मूल्य पनि गत वर्षको तुलनामा अहिले थोरै कम छ । तर, रुसले इन्धनको उत्पादनमा गरेको कटौतीका कारण विश्वबजारमा अहिले इन्धनको मूल्यले उकालो लाग्दैछ । अन्तर्राष्ट्रिय इन्धन विज्ञहरुले आगामी दिनमा इन्धनको मूल्य अझै बढ्ने बताइरहँदा मुख्यतः डिजेलबाट गुड्ने सवारी साधन, मालवाहक साधनको ढुवानी र कारखानाको लागत खर्च बढ्न गई त्यसको नकारात्मक असर उपभोक्ताको भान्छासम्म पुग्ने निश्चित छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा प्रत्येक १५ दिनमा इन्धनको मूल्य समायोजन गर्दै आएको छ । अक्टुबर १ तारिखमा निगमले फेरि पनि मूल्य समायोजन गरेर इन्धनको नयाँ मूल्य जारी गर्छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेका कारण यस वर्ष उपभोक्ताको दसैं झन् महँगिने उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जनले बताए ।

‘बढ्दै गएको महँगीका साथै यो वर्ष आर्थिक मन्दीको प्रभाव र आम उपभोक्ताको क्रयशक्ति पनि निक्कै कमजोर भएकाले दसैं मनाउन त्यति सहज छैन,’ उनी भन्छन्, ‘निम्न र मध्यम वर्गका लागि यसपटक दसैं खल्लो हुने अवस्था छ ।’

महँगी वृद्धि गर्न सरकारले समेत मलजल गरेकाले उपभोक्ताको लागि यो दसैं झनै कष्टकर बनेको महर्जनले आरोप लगाए । सरकारले बजार हस्तक्षेप गर्ने निकायलाई समयमै पर्याप्त परिमाणमा चिनी आयात गर्न अनुमति नदिएकाले अहिले बजारमा चिनीको अभाव भएको उनको भनाइ छ । महर्जनले तस्कर, कालोबजारी र सरकारको मिलेमतोमा रातारात चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको बताए । यसपटक सरकारले चाँडबाँड केन्द्रित सुपथ मूल्य पसल मार्फत चिनी बिक्री नगर्ने भएको छ । यसले उपभोक्ता थप मारमा पर्नेछन् ।

‘चिनी छैन भन्ने व्यापारीले लुकाएर राखेको ठूलो परिमाण भेट्टाउँदा पनि सम्बन्धित व्यवसायीमाथि कारबाही नहुनु भनेको सरकारको मिलेमतो रहेको पुष्टि हुन्छ,’ उनले भने, ‘यसबाट बुझ्नुस् सरकार उपभोक्ताभन्दा सीमित उद्योगी र व्यवसायीको पक्षमा हिँडेको छ ।’

सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गरिरहेको दाबी गरिरहँदा कालोबजारी, कार्टेलिङ र कृत्रिम अभावजस्ता समस्या हट्नुपर्ने हो । ‘अनुगमन भइरहे पनि उपभोक्ताले राहत अनुभूति गर्न सक्ने गरी बजारमा सुधार त आएको छैन,’ महर्जनले भने ।

खुद्रा व्यापार संघले पनि बजार अराजक बन्नुमा सरकारलाई दोषि ठहर्‍याएको छ । संघका उपाध्यक्ष नरेश शाहीका अनुसार सरकारले समयमा आयात गर्न अनुमति नदिनु, रातारात अत्यधिक मूल्य बढाउँदा गहन रुपमा छानविन गरी कारबाही गर्न नसक्नु, विभिन्न बहानामा सरोकारवाला निकायहरुले मूल्यवृद्धि गर्दा पनि सरकार लाचार भएर बसेका कारण हाल बजार अराजक बाटोमा गएको हो ।

‘उपभोक्ताले दैनिक खपत गर्ने वस्तुहरुको मूल्य रातारात बढेको छ, यस विषयमा गम्भीर भएर अनुगमन गरी बजारलाई व्यवस्थित बनाइदिनुपर्‍यो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पटक-पटक धायौं तर चासो देखाइएन, यसले गर्दा बजारलाई अराजक बनाउने सीमित समूहको मनोबल झनै बढेका कारण उपभोक्ताले महँगी झेल्न बाध्य भएका हुन,’ शाहीले भने ।

कालिमाटी बस्ने सुमित्रा ढुँगानालाई पनि दसैं नजिकिँदै गएपछि खर्चको जोहो गर्ने तनावले पिरोलेको छ । क्रयशक्ति निक्कै कमजोर भएको बताउने ढुँगानालाई यो वर्ष दसैं नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।

‘दसैं के गरी मनाउनु र ?,’ उनले भनिन्, ‘दसैं भनेको मासु खाने र नयाँ लुगाफाटो हाल्ने पर्व हो । तर यो वर्ष ती दुवै गर्न आर्थिक अवस्थाले अनुमति दिँदैन । मासु अरु बेला कहिलेकाहिँ खाइरहने भएकाले यो वर्षको दसैंमा मासु नखाएर बच्चाहरुलाई लुगा मात्रै हालेर मनाउने विचार गरेको छु ।’

ढुँगानालाई मात्रै होइन, अधिकांश निम्न र मध्यमवर्ग परिवारलाई यो वर्षको दसैंमा मासु पनि खान अनि नयाँ लुगा पनि हाल्न आर्थिक अवस्थाले नभ्याउने भएकाले दुईमध्ये एक मात्रै पूरा गर्ने अवस्था सिर्जना भएको छ ।  

दसैंमा मासु पकाउन मसलामध्ये अत्यधिक खपत हुने जिरा हो । जिराको मूल्य विश्वभर उकालो काटिरहँदा दसैंको किनमेललाई पनि यसले ठूलो प्रभाव पार्ने भएको छ । नेपाल थोक विक्रेता संघका अध्यक्ष देवेन्द्र भट्टले जिराको मूल्य अहिले सुनजस्तै महँगो भएको छ । मसलामा सबैभन्दा बढी खपत हुने जिराको मूल्य बढ्दा यो वर्षको दसैंमा उपभोक्ताले उक्त मसलाको खपत परिमाण पनि निक्कै घटाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

गत वर्षको दसैंताका जिराको मूल्य प्रतिकिलो ५ सय ५० थियो । अहिले यसको मूल्य बढेर १ हजार ५ सय ५० पुगेको छ । विश्वभर जिरा उत्पादन हुने कूल परिमाणमा झन्डै ७० प्रतिशत भारतमा उत्पादन हुन्छ । तर, भारतमा जिराको खेती निक्कै कम भएको र मौसम पनि प्रतिकूल भएकाले अन्तर्राष्ट्रिय बजारमा जिराको मूल्यले आकाश छोएको हो ।

‘दसैंमा अत्यधिक खपत हुने चामल, जिरा, चिउरा, ग्यास, मासुलगायतको मूल्य अहिले नै धेरै पुगिसकेको छ,’ भट्टले क्लिमान्डुसँग भने, ‘इन्धनको मूल्य बढ्दा आगामी दिनमा ढुवानीको मूल्य बढेर अति आवश्यक वस्तुको मूल्य अझै बढ्ने सम्भावना छ ।’

उनका अनुसार ढुवानी साधनमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण पनि ढुवानी खर्च महँगो हुँदै गएको छ । यसबाट उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् । इन्धनको बढ्दो मूल्य, ढुवानी भाडा र भ्याटका कारण प्रतिकिलो सामानमा अहिले पनि ४ देखि ५ रुपैयाँ मूल्य थपिँदै आएको भट्टको भनाइ छ ।

दसैंमा चामलभन्दा बढी चिउराको खपत अत्यधिक हुन्छ । चिउराको मूल्यले पनि अहिले उकालो लागेको छ । २०७९ असोजमा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको टाइचिन चिउराको मूल्य अहिले नै १ सय ६० रुपैयाँ पुगिसकेको छ । यस्तै ७५ रुपैयाँ प्रतिकिलोमा गत वर्ष कारोबार गरेको तराई चिउराको मूल्य अहिले बढेर प्रतिकिलो १ सय ५ रुपैयाँ पुगेको छ ।

भट्टका अनुसार भारतले धान, चामल, चिनीलगायतका खाद्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका कारण पनि नेपालको घरेलु बजारमा प्रत्यक्ष असर पुगेको हो । ‘भारतबाट यो वर्ष चिउरा बनाउने धान आयात नहुँदा चिउराको मूल्य बढेको हो तर अब आफ्नै धान बजारमा आउने बेला भएकाले तुलनात्मक रुपमा केही सस्तो हुन्छ कि,’ उनले अनुमान गरे ।

नेपालीको प्रमुख खान्की चामलको मूल्य पनि त्यत्तिकै बढेको छ । खुद्रा व्यापार संघका उपाध्यक्ष नरेश शाहीका अनुसार गत वर्षको चैतमा प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर अहिले ९५ रुपैयाँ पुगेको छ । किलोमै ५ रुपैयाँ बढेका कारण अहिले २५ किलोको चामलको बोरालाई २ हजार ३ सय ७५ पुगेपनि उपभोक्ताले २ हजार ४ सय रुपैयाँमा खरिद गर्न बाध्य भएका छन् ।

यस्तैगरी उच्च वर्गले उपभोग गर्ने लङ ग्रेन बासमती चालमको मूल्य अहिले प्रतिकिलो १ सय ७५ पुगेको छ । अघिल्लो वर्षको दसैंमा यसको मूल्य १ सय ५० रुपैयाँ थियो ।

नेपाल दाल, चामल, तेल उद्योग संघका निवर्तमान अध्यक्ष डा. सुवोध गुप्ताले भने दसैंमा मुख्य गरी जिरा, चिनी, मासु र इन्धनको मूल्यले उपभोक्तालाई आहत गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत वाणिज्य समितिको सभापतिसमेत रहेका गुप्ताले नेपालीको क्रयशक्ति कमजोर हुँदै गएको अनि महँगी पनि बढ्दै गएको कारण यो वर्ष दसैं उल्लासमय हुन नसक्ने बताए।

‘क्रयशक्ति निक्कै कमजोर भएको र महँगी बढेका कारण उपभोक्ताको आर्थिक अवस्था थिलथिलो भइसकेको छ,’ गुप्ताले भने, ‘दसैंमा बढी खपत हुने केही खाद्य पदार्थको मूल्य अझै बढ्ने क्रममा छ । यस्तो अवस्थामा उपभोक्ताका लागि दसैं त्यति उल्लासमय बन्दैन ।’

चिनीबिना खल्लो दसैं

उनका अनुसार दसैंमा चिनीको खपत पनि निक्कै बढ्छ । नेपालमा आधिकारिक बाटोमार्फत चिनी आएको छैन । स्वदेशी चिनी उद्योगसँग पनि करिब चिनीको मौज्दात सकिएको छ र बजार हस्तक्षेपकारी निकाय साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि चिनी नभएकाले उपभोक्तालाई यसले ठूलो प्रभाव पार्न सक्ने उनले औँल्याए । सरकारले प्रभावकारी रुपमा नियमन गरी अति आवश्यक वस्तुको सहज नियमित आपूर्ति प्रणाली बनाएर मूल्यवृद्धि गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने गुप्ताको सुझाव छ ।

‘सरकारले समयमै विश्लेषण गरी चाहिने परिमाणमा चिनी आयात गर्न अनुमति नदिएका कारण चिनीको मूल्य निक्कै बढेको छ,’ उनले भने, ‘हामीले गत साउनमै भारतसँग कोटामा धान, चामल र चिनी माग गरेका थियौं तर त्यहाँबाट आउने पनि सकारात्मक लक्षण देखिएको छैन ।’

उनका अनुसार नेपालमा वार्षिक ३ लाख टन चिनीको माग छ । यसमध्ये झन्डै २ लाख टन बिस्कुट, चकलेट, डेरीजन्य उत्पादन, चिसोजन्य पेयजन्य पदार्थलगायतको उद्योगले खपत गर्छ, बाँकी १ लाख टन घरायसी प्रयोजनमा खपत हुन्छ । चिनीको कुल मागमध्ये स्वदेशी उद्योगबाट डेढ लाख टन मात्रै उत्पादन हुन्छ, बाँकी डेढ लाख टन आयात गर्नुको विकल्प नरहेको गुप्ताले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले आन्तरिक उत्पादन नभएपछि बजारमा त्यसको प्रभाव परेको जानकारी दिए । नेपालमा उत्पादनको अभाव, बढ्दै गएको ढुवानी खर्च र लागतका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि भएको उनको भनाइ छ । उनका अनुसार ६ महिनाको अवधिमा आधिकारिक रुपमा भन्सारबाट उपभोक्ताले उपभोग गर्ने चिनी आयात भएको छैन ।

‘तथापि दसैंको समयमा उपभोक्तालाई राहत दिने उद्देश्यले हामीले पैठारीकर्ताले वस्तु खरिद गर्ने बिल, उद्योगको उत्पादन लागतको खर्च, थोक विक्रेता र खुद्रा विक्रेताको खरिद र बिक्री बिल अध्ययन गर्दैछौं,’ चिलुवालले भने । तहगत मूल्यको अवस्था अध्ययनपछि चिनी, चामललगायत अरु अति आवश्यक वस्तुको विषयमा वदमासी गर्ने व्यापारी, पैठारीकर्ता र उद्योगीलाई कारबाही गर्ने तयारी भएको उनले बताए ।


राजेश बर्मा