प्रधानमन्त्रीको चीन भ्रमण: १३ बुँदे संयुक्त वक्तव्य जारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीचको भेटवार्तापछि मंगलबार बिहान संयुक्त वक्तव्य जारी भएको हो । संयुक्त वक्तव्यमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने बताइएको छ ।

१३ बुँदे संयुक्त विज्ञप्तिमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ ।

वक्तव्यमा नेपाललाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार रहेको उल्लेख गरिएको छ । केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल-चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

लिजी-नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि चिनियाँ पक्षले आवश्यक सुधार गर्ने वक्तव्यमा उल्लेख छ । त्यस्तै नेपाल-चीन सीमा व्यापारका परम्परागत नाकाहरु पुनः चाँडै खोल्न चीन सहमत भएको छ ।

चेन्ताङ-किमाथाङ्का र रिबु-ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न चीन नेपाल सहमत भएका छन् । यस्तै टोखा-छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीव्रता दिन चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु