सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त
काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोष सञ्चालक समितिले अधिकारीलाई सोमबार कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिमा नेपाल उद्योग परिसंघका तर्फबाट गोकुल भण्डारी र ट्रेड युनियन प्रतिनिधि सुनिता थापा सदस्य थिए ।
उपसमितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त अधिकारी पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् । कार्यकारी निर्देशकको पदावधि ४ वर्षको रहनेछ ।
कोषको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए । उपसमितिले त्यसमध्ये ६ जनालाई छनोट गरेको (सर्टलिस्ट) थियो । उनीहरुको प्रस्तुतीकरण असोज २ गते थियो भने अन्तर्वार्ता ४ गते लिइएको थियो । अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस भएको हो ।
कोष सञ्चालक समितिको अध्यक्षमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी छन् । सदस्यहरुमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, कानुन मन्त्रालयका सहसचिव केसी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत छन् ।
कोषको तत्कालीन कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल साउन १४ मा सकिएको थियो । श्रम मन्त्रालयअन्तर्गत रहेको कोषको कार्यकारी निर्देशकमा उनी चार वर्षअघि २०७६ साउनमा नियुक्त भएका थिए ।