गत वर्षभन्दा भदौमा १२ अर्ब कमको आयात, साउनको तुलनामा निर्यात ५० करोडले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ ।

चालु आर्थिक वर्षको साउनभन्दा भदौमा आयात १ अर्ब रुपैयाँले बढे पनि गत वर्षको भदौभन्दा आयात १२ अर्ब रुपैयाँले घटेको भन्सार विभागले जनाएको छ ।

गत वर्ष भदौमा १ खर्ब ४२ अर्ब रुपैयाँको बराबर आयात भएको थियो ।

बजारमा माग बढ्न नसक्दा आयातमा वृद्धि नभएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबर आयात भएको थियो । भदौदेखि चाडपर्वको सिजन सुरुहुँदा समेत आयात बढ्न नसकेको विभागका अधिकारीहरु बताउँछन् ।

निर्यात ५० करोडले घट्यो

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा १२ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा १३ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको थियो ।

पाम तेल लगायतका सामाग्रीको निर्यात गिरावट हुँदा समग्र निर्यात घटेको विभागका अधिकारीहरु बताउँछन् । गत वर्ष साउन महिनामा १४ अर्ब ० करोड रुपैयाँ र भदौ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको थियो ।


क्लिकमान्डु