पाँच बैंकको लाभांश घोषणाः तीन बैंकको साधारणसभा दसैंअघि नै, कुनको बुक क्लोज कहिले ?



काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । लाभांश घोषणा गरेका पाँचवटा बैंकमा तीनवटाले वार्षिक साधारणसभा बोलाइसकेका छन् ।

अहिलेसम्म माच्छापुच्छ्रे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजन्स बैंकले लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

बैंकले असोज २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज १६ देखि २८ सम्म बुक क्लोज गर्ने भएको छ । असोज १५ सम्म कायम रहेका सेयरधनीले बैंकले दिने लाभांश पाउनेछन् भने सभामा पनि सहभागी हुन पाउनेछन् ।

यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ ।

बैंकले सेयरधनीलाई दसैंअघि नै लाभांश दिने भएको छ । बैंकले असोज १८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले भोलि (सोमबार) बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

सिटिजन्स बैंकले पनि सेयरधनीलाई दसैंअघि नै लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकले असोज २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । असोज १४ सम्म कायम सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा पनि भाग लिन पाउनेछन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सेयरधनीलाई उच्च लाभांश दिने दोस्रोमा एभरेष्ट बैंक रहेको छ । बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले साधारण सभाको मिति तय गरेको छैन ।

यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले बोनस ९ प्रतिशत र करसहित ५.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले पनि साधारणसभाको मिति तय गरेको छैन ।

बैंकहरुको प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकहरुको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउँछन् ।


क्लिकमान्डु