बैंकको ब्याजदर घटाइ बजारलाई चलायमान गराउन लागि पर्छुः सभापति चालिसे



काठमाडौं । संघीय सांसद एवं अर्थ समितिका सभापति सन्तोष चालिसे आफु अर्थसमितिको सभापति भएका नाताले केही समयभित्रै बैंकको ब्याजदर घटाइ बजारलाई चलायमान गराउन लागि पर्ने बताएका छन् ।

उनले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा यस्तो बताएका हुन् । चालिसेले सरकारको विशेष पहलबिना अहिलेको अर्थतन्त्रले लय नपक्रने बताए ।

विश्व अर्थतन्त्रमा आएको मन्दीले मुलुकको अर्थतन्त्रलाई समेत प्रभाव पारेको बताए । उनले हरेक क्षेत्र संकटबाट गुज्रिरहेकाले यसलाई माथि उठाउन सरकारले भूमिका महत्वपूर्ण हुने बताए ।

मुलुकले खाद्यान्न लगायतका हरेक वस्तु विदेशबाट आयात गरिरहेकाले अब सहकारीहरु उत्पादनशील क्षेत्रमा जानुपर्नेमा बताए । घर गाडी जस्ता क्षेत्रमा गरेको करोडौं लगानीले राज्यलाई कुनै लाभ नहुने भन्दै चालिसेले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारी सदस्यको भएकाले संस्था बलियो भए सदस्यको आर्थिक सामाजिक हैसियत बलियो हुँदै जाने औंल्याए । सदस्यहरुमा सहकारी मेरो हो भन्ने भावना जागृत गर्न आग्रह गर्दै उनले सहकारीबाट नै सदस्यको आर्थिकस्तर माथि उक्सनेमा दुईमत नभएको बताए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष शर्मिला अमात्यले संस्थाले व्यक्तिले होइन विधिले चल्नुपर्छ भन्ने मुल्य मान्यता स्थापित गर्न सकेकाले अहिलेको विषम परिस्थितिलाई जित्न सकेको बताइन् । सदस्यहरुको पूर्ण सहयोग र विश्वासका कारण वित्तीय संकटका बेलामा पनि संस्थाको गरिमालाई कायम राख्न सकेको उनको भनाइ छ ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १७ करोड ८ लाख सेयरपुँजी, १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी गरी १ करोड ४४ लाख रुपैया खुद नाफा आर्जन गरेको छ ।

संस्थाले २ अर्ब ६६ करोड ५६ लाख कुल कारोबार गर्न सकेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ४२ लाख र स्थिर सम्पत्ति २१ करोड ५३ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत नगद लाभांश बाड्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।


क्लिकमान्डु