कहिलेबाट सुरु हुन्छ नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी ?
काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीएल’द्वारा नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।
यो ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो, जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ । फोनपे र एनआईपीएलबीचको सहकार्यले दुवै देशका लाखौं नागरिकलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोडमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सहयोग पुग्नेछ ।
उक्त सेवाका लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् । प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा छ । प्राविधिक एकीकरणको समाप्तिपश्चात यी दुई कम्पनी आफ्नो नेटवर्कमा आबद्ध सदस्यलाई सेवा प्रदान गर्न सक्षम हुनेछन्, जसबाट लाखौँ उपभोक्ता र व्यापारीले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
दुई कम्पनी बीचको रणनीतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा सावित हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले सम्झौता दुबै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताएका छन् ।
त्यस्तै एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले यूपीआई एप्सले सहजै क्रस बोर्डर भुक्तानीलाई सक्षम बनाउने र मानिसको कारोबार गर्ने तरिकालाई बढाउने बताएको छ ।