राष्ट्रिय कृषि गणनाको नतिजा सार्वजनिक, १० वर्षमा बढे ३ लाख किसान
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले ७औं राष्ट्रिय कृषि गणनाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । मुलुक संघीयतामा गएपछि पहिलोपटक कृषि गणना गरी नतिजा सार्वजनिक गरिएको हो ।
पहिलोपटक ७५३ स्थानीय तहका ३ लाख ३० हजार ११२ किसान परिवारको लगत संकलन गरिएको छ । राष्ट्रिय जनगणनापछि कृषि गणनालाई दोस्रो ठूलो गणना मानिन्छ ।
कृषि गणनाअनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र १ लाख ३२ हजारले पशुपन्छी मात्र पालेको फेला पारिएको छ । २०६९ को गणनाअनुसार खेतीपाती गर्नेको संख्या ३७ लाख १६ हजार अनि पशुपन्छी पाल्नेको संख्या १ लाख १६ हजार थियो । १० वर्षको अवधिमा ३ लाख किसान बढेका हुन् ।
कृषक परिवारअन्तर्गत २२ लाख १८ हजार हेक्टर जग्गामध्ये २१ लाख २२ हजार हेक्टर कृषि कार्यमा उपयोग भएको छ भने बाँकी ८१ हजार हेक्टरमा वन बनेलो लागेको छ । त्यस्तै १३ हजार हेक्टरमा पोखरी, ३ हजार हेक्टरमा अन्य कामका लागि उपयोगमा रहेको छ ।