गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बोर्डले गर्नुपर्ने ७ काम



काठमाडौं । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन नेपाल धितोपत्र बोर्डले विभिन्न ७ विषयमा सहजीकरण गर्नुपर्ने देखिएको छ । बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समिति यस्तो सुझाव दिएको हो ।

सुझावमा गैरआवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रक्रियामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने र यसका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावलीमा संशोधन गनुपर्ने उल्लेख छ ।

निक्षेप सदस्यहरुले गैरआवासीय नेपालीहरुको डिम्याट खाता खोल्दा सरकारले जारी गरेको गैरआवासीय परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान गरी खाता खोल्न तथा खाता अद्यावधिक गर्न सक्ने व्यवस्था गर्नुपर्ने सुझावमा समेटिएको छ ।

गैरआवासीय नेपालीलाई धितोपत्र दलालकहाँ ट्रेडिङ खाता खोल्न, ग्राहक पहिचानलाई सरलीकरण गरी प्रविधि प्रयोग गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा केही विषय थप गर्न भनिएको छ ।

‘धितोपत्र दलालले गैरआवासीय नेपालीको कारोबार गर्नुअघि ग्राहकको ट्रेडिङ खाता खोल्दा तथा ग्राहक पहिचान विवरण राख्दा गैरआवासीय नेपालीको परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट गर्न सक्नेछ । साथै त्यस्तो विवरण तोकिएको समय अन्तरालमा विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सम्पूर्ण जिम्मा धितोपत्र दलालले गर्ने’ भन्ने व्यवस्था थप गर्न माग गरिएको छ ।

यस्तै धितोपत्र दलालले सेवा प्रदान गर्दा अपनाउनुपर्ने उपाय र सेवालाई सरलीकरण गर्न धितोपत्रको दोस्रो बजारमा गरिने कारोबारका लागि खोलिएको बैंक खाता, डिम्याट खाता र धितोपत्र दलालकहाँ खोलेको ट्रेडिङ खाता एक-आपसमा आबद्ध हुनुपर्ने उल्लेख छ ।

गैरआवासीय नेपालीले कारोबार गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौट गरी प्रचलित कर एवं शुल्क र कमिसनहरु भुक्तान गरी ग्राहकको बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा गरिदिने व्यवस्था गर्न सुझाव दिएइको छ ।

यस्तै गैरआवासीय नेपालीले खरिद गर्न सक्ने/लगानी गर्न पाउने धितोपत्र/क्षेत्र संख्या/लगानीको सीमा रकम/अवधि तथा रकम फिर्ता लैजाने प्रक्रिया, सूचीकृत संगठित संस्थाको वार्षिक साधारणसभामा मतदान गर्ने तथा सञ्चालक समितिमा भाग लि सम्बन्धी व्यवस्था, सम्पति हस्तान्तरण/अपुताली सम्बन्धी व्यवस्था आदिका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

गैरआवासीय नेपालीका लागि धितोपत्रको दोस्रो बजारमा परिवर्तनीय बैंक खाता खोली कारोबारका लागि सहजीकरण गर्न (विदेशी तथा स्वदेशी मुद्रामा खाता खोल्ने) धितोपत्र बोर्डको अनुरोधमा नेपाल राष्ट्र बैंकबाट इच्छुक वाणिज्य बैंकहरुलाई गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबारका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैंकको अनुमतिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकका तर्फबाट डिम्याट खाता खोल्ने, धितोपत्र दलालकहाँ ग्राहकको तर्फबाट कारोबार खाता खोलिदिने तथा ग्राहकको तर्फबाट विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने सम्बन्धमा धितोपत्र बोर्डले सदस्य बैंकको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाउने र सदस्य बैंकले शुल्क लिई गैरआवासीय नेपालीसँग सम्झौता गरी यी सेवा प्रदान गर्न सक्ने उल्लेख छ ।

संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकको कारोबारको प्रतिवेदन नेपाल धितोपत्र बोर्डलाई तोकिएको समयभित्र गराउनुपर्ने व्यवस्था मिलाउने सुझाव रहेको छ ।


रवि धिताल